सीपीसी विदेश विभाग प्रमुख लिउले भनेःबीपी, महेन्द्र र प्रचण्ड नेपालका धेरै अग्ला नेता हुन्

काठमाण्डु, २९ असार– चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ माझ नेपालका तीन नेताको स्थान उच्च रहेको बताएका छन् ।

नेपालमा काँग्रेस संस्थापक बीपी कोइराला, तत्कालीन राजा महेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको औसतभन्दा बढी राजनीतिक उचाइ हासिल गरेका नेता भएको उनको टिप्पणी थियो । लिउले मंगलबार माओवादी अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा भएको दुई घण्टा लामो वार्तामा प्रचण्डको खुलेरै प्रशंसा गरे ।

‘चिनियाँहरुका बीचमा विशेष गरेर तीन जना नेपाली नेताहरु चर्चित र सम्मानित हुनुहुन्छ’, लिउको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक माओवादी नेताले भने, ‘बीपी कोइराला, राजा महेन्द्र र प्रचण्डको उचाइको नेता नेपालमा अरु छैनन् ।’ बीपी र महेन्द्र दिवंगत भइसकेको उल्लेख गर्दै उनले चीनका नेता र जनस्तरमा समेत धेरैपटक आफूले प्रचण्डका विषयमा चर्चा सुन्ने गरेको उल्लेख गरे । लिउले आफ्नो प्रशंसा गरिरहँदा प्रचण्ड प्रफुल्लित भएका थिए ।

यस्तै पछिल्लोपटक अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रोक्न निर्णायक भूमिका खेलेकामा पनि चिनियाँ नेताले प्रचण्डको प्रशंसा गरे । हिन्द प्रशान्त रणनीतिको अंगका रुपमा चीन घेर्ने उद्देश्यका साथ आएको एसपीपी रोकेर राम्रो काम गरेकामा उनले नेपालको सरकार, राजनीतिक दलका नेता र जनतालाई धन्यवाद दिए ।

दुई घण्टा अरु नेताहरुसहित सामूहिक वार्ता गरेका लिउ र प्रचण्डले एक घण्टा एक्लाक्लै कुराकानी गरेका थिए । त्यस भेटमा भएको कुराकानीबारे केही बताइएको छैन ।
सामूहिक भेटमा प्रचण्डलाई उनले उत्तराधिकारी निर्माणमा भने गम्भीर बन्न सुझाएका थिए । उनले आगामी पुस्तालाई शक्तिशाली पार्टी हस्तान्तरण गरेर अभिभावकीय भूमिकामा बस्ने गरी अहिल्यैदेखि तयारी थाल्दा राम्रो हुने सुझाव दिएको दाबी श्रोतको छ । लिउले चीनमा नेतृत्वको पुस्तान्तरण चर्चित याङछी नदीसँग गरेका थिए ।