मस्कले ट्रम्पलाई भने –‘धेरै बुढो भयौ, राजनीतिबाट सन्यास लिएर आराम गर्ने बेला भयो !’

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्क र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच रोचक घोचपेच भएको छ । ट्रम्पले शनिबार अलास्का राज्यको एन्कोरेजमा भएको एक राजनीतिक र्‍यालीमा टेस्लाका सीईओ मस्कको विरोध गरेपछि मस्कले ट्वीटरमार्फत कडा जवाफ फर्काएका छन् ।

मस्कले सोमबार साँझ विभिन्न ट्वीटमार्फत ट्रम्पले राजनीति छाड्ने बेला भएको लेखेका छन् । ‘म यो मान्छे(ट्रम्प)लाई घृणा गर्दिनँ, तर उनले राजनीतिबाट सन्यास लिएर आराम गर्ने बेला आएको छ ,’ मस्कले ट्वीटमा भने ,‘ट्रम्प (यदि दोस्रो पटक राष्ट्रपति भए भने) कार्यकाल अन्त्य हुँदा उनी ८२ वर्षको हुनेछन् । केहीको पनि प्रमुख कार्यकारी हुनको लागि धेरै बुढो हुने यो उमेरमा देशको प्रमुख हुने त झन् कुरै छाडिदिनुस् ।’

मक्स त्यतिकैमा रोकिएनन् उनले ट्रम्पले उम्मेद्वारी दिए बाइडेनलाई हराउन नसक्ने पनि भने । ‘(ट्रम्पले भन्दा बरु) फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस सन् २०२४ मा बाइडेनविरुद्ध उठे भने उनले सजिलै जित्नेछन् । उनले उम्मेदवारी मात्र दिए पनि पुग्छ, प्रचार पनि गर्नुपर्दैन,’ स्पेसएक्सका संस्थापक समेत रहेका मस्कले भने ।

चुनावी र्‍यालीमा ट्रम्पले ‘राष्ट्रपतीय निर्वाचनमा मस्कले आफूलाई मतदान गरेको बताएको’ भनेका थिए । तर यो साँचो नभएको मस्कले जवाफ दिए । ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनावको लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारीको तयारी गरिरहेको चर्चा हुने गर्छ । तथापि यस विषयमा केही सार्वजनिक भएको छैन ।

पूर्व राष्ट्रपति ट्रम्पका नजिकको स्रोतले मिडियासँगको कुराकानीमा यो विषय ट्रम्प र उनको परिवारको व्यक्तिगत निर्णयमा भर पर्ने बताउने गरेका छन् ।

ट्रम्प एक कार्यकालमै बाहिरिएपछि ठूल्–ठूला र्‍याली आयोजना गरिरहेका छन् । ती र्‍यालीलाई उनले आफ्ना हर प्रकारका विरोधीको आलोचना गर्न प्रयोग गर्ने गरेका छन् ।

यस्तै र्‍यालीमध्ये पछिल्लो पटकको अलास्काको र्‍यालीमा उनले ट्वीटर सम्झौतामा मस्कले झेली गरेको भन्दै आलोचना गरे ।

यसअघि दुई नेताबीच सौहार्दपूर्ण सम्बन्ध भएजस्तो देखिएकोमा अहिले त्यसमा यु–टर्न भएको देखिन्छ ।

मे महिनामा, मस्कले फाइनान्सियल टाइम्सद्वारा आयोजित सम्मेलनमा ‘ट्वीटर स्वामित्वमा लिइसकेपछि ट्रम्पको प्रतिबन्धित ट्विटर एकाउन्ट पुनर्स्थापित गर्ने’ बताएका थिए ।

टेस्लाका सीईओले यसअघि ट्रम्प राष्ट्रपति हुँदा उनका दुई सल्लाहकार परिषद्मा बसेर काम गरेका थिए । यद्यपि, तत्कालीन राष्ट्रपतिले अमेरिकालाई ‘पेरिस सम्झौता’बाट अलग गरेपछि मस्कले राजीनामा दिए ।

पछिल्लो समय मस्क र बाइडेन सरकारबीच समेत तिक्तता विकास भएको छ । बाइडेनले अमेरिकी कार कम्पनीको वातावरणमैत्री वाहन उत्पादन गर्ने प्रयासको चर्चा गर्दा टेस्लालाई बेवास्ता गरेको भन्दै मस्क रुष्ट छन् ।

यी दुई नेताहरूबाट दिक्क भएपछि मस्क अहिले डिसेन्टिससँग नजिकिएजस्तो देखिन्छ । तर यी दुई जनाबीचको निकटता पनि कति टिक्छ समयले देखाउँला ।

स्रोतः डेलीबिस्ट