बिजुलीको पोल हुँदै तारमा बसेर चर्चित बनेका माइला ,तारमा चढ्दिनँ, अब पुग्यो; चान्स पाए कलाकार बन्ने हो

नुवाकोटमा बिजुलीको पोल हुँदै तारमा बसेर चर्चित बनेका ४२ वर्षीया माइला विक अर्थात् हिमबहादुर सुनार यतिबेला काठमाडौंको चन्द्रागिरी नगरपलिका पुरानो नैकापस्थित सूर्योदय नेपाल सुधार केन्द्रमा छन् ।उनलाई भेट्न सुधार केन्द्रमा पुग्दा उनी प्रहरीको पोशाकमा भेटिए । प्रहरीको पोशाकबारे उनले भने, ‘म तारमा चढ्दा नाङ्गै थिएँ । प्रहरी दाइहरूले मेरो माया लागेर मलाई यो कपडा दिनुभएको हो । मैले जागिर खाएर पाको होइन ।’

नवजीवन परोपकार समाजमा २ दिन बसेर मानसिक अस्पताल पुर्‍याई उपचार गरी हाल सुधार केन्द्रको संरक्षणमा राखिएका छन् । चिकित्सकको सल्लाहमा उनलाई दैनिक ४ चक्की औषधि सेवन गर्न दिइने गरेको सञ्चालक उदय न्यौपानेले बताए ।<p>‘अहिले उहाँ पूरै रेस्टमा हुनुहुन्छ,’ सञ्चालक न्यौपानेले भने ।आइतवार साँझको समयमा भेट्न पुग्दा माइला दाइ अलि गम्भीर देखिन्थे । उनले जीवनमा माया पाए जिउन सजिलो हुने निष्कर्ष सुनाए । ‘जीवनमा सानो कीरालाई पनि माया गरे उसले पनि हामीलाई बचाउँदो रहेछ भन्ने कुरा यो संस्थामा आएर सिक्न पाए,’ उनले भने ।

घर वरिपरि मात्र बसेर कसैले चिन्दैनन्, कि त मरिन्छ कि त फेमस भइन्छ भनेर त्यो तारमा चढेको थिएँ । मर्न त मरिनँ तर फेमस भएँ,’ ठट्यौली शैलीमा उनले सुनाए ।
‘अब पोलमा कहिल्यै पनि चढ्ने छैन । फेमस भइहाले, बरु मौका मिल्यो भने कलाकारिता गर्ने इच्छा छ । नत्र गाउँमा गएर खनजोत गर्ने हो,’ उनले ठट्यौली शैलीमा भने, ‘मेरो कलाहरू के–के छन् ? कस्तो–कस्तो छन् ? त्यो सबै रहर म जन्मेदेखि पूरा गर्न पाएको छैन । अब म जति समय रहन्छु, मेरो सबै रहर मेट्छु । मलाई टीभीमा खेल्न बोलाएदेखि म खेल्न जाने नै हो । कसैको पनि माया नपाएर त्यस्तो गरेको थिएँ, अब उपरान्त कहिल्यै उपद्रो काम गर्ने छैन ।’

स्वास्थ्य अवस्थाबारे बताउँदै उनले भने, ‘मेरो छातीको हड्डी भाँचिएको छ । यसको एक्स–रे गर्ने कुरा चलिरहेको थियो, त्यसपछि अरु खासै केही पनि छैन । खुट्टामा सामान्य घाउ थियो, त्यो पनि औषधि लगाएर बिसेक भइसकेको छ ।’

उनले थपे, ‘यो संस्थामा आएदेखि म दैनिक नुहाउँछु, बिहानै उठ्छु, अरु सबै जना दाजुभाइ अरु–अरु काममा व्यस्त बन्नुहुन्छ, मलाई त केही पनि गर्नु पर्दैन, खाना, नास्ता खान्छु रेस्ट गर्छु, बस्छु रमाइलो भइरहेको छ ।’संस्थाका सञ्चालक उदय न्यौपानेका अनुसार माइला दाइलाई अहिले माया र रेस्टको खाँचो रहेको छ । उनले भने, ‘त्यो तारमा चढेको दिनपछि यहाँ ल्याएको दिनभन्दा अहिले २६ दिनमा उहाँमा त्यो बेलाको जस्तो मानसिकता नै परिवर्तन भइसकेको छ । सोचाइमा नै परिवर्तन आइसकेको छ अहिले ।’