भाइरल भिडिओ : ‘नेपहपको श्रीपेच’ को फाइनलमा झ्याप थिए बालेन्द्र ?

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहको केही सेकेन्डको भिडियो एकाएक टिकटकमा भाइरल बनेको छ । उक्त भिडियोमा साहको बोली र हाउभाउलाई हेरेर धेरैले ‘मेयर झ्यापमा’ भन्दै टिप्पणी गरिरहेका छन् ।

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ को गत शनिवार भएको ग्रान्ड फाइनलमा चिफ गेस्टको रूपमा उपस्थित भएका थिए साह । उनी उक्त रियालिटी शोका एक निर्णायक पनि हुन् ।

फाइनलमा स्टेज पटक पटक उभिँदा बालेनको बडी ल्याङ्वेज अलिक अस्वाभाविक देखिएको थियो । उनको बोली केही लरबराएको र शरीर पनि अलि असन्तुलित थियो । त्यसैले उनी त्यसबेला रक्सीले मातेको अनुमान धेरैले गरेका छन् ।

कुनै पनि सार्वजनिक कार्यक्रम होस वा अन्तरवार्ता, बालेन शिष्ट र अनुशासित रूपमा पेश हुने गर्छन् । कहिले पनि उनले अमर्यादित वा उत्ताउलो व्यवहार गरेको देखिँदैन ।

यस कार्यक्रममा भने उनी स्वभाव विपरीत केही अस्थिर र चञ्चल देखिएका थिए । एक पटक उद्घोषिकाले बोल्दै गर्दा बालेन बिना प्रसंग अचानक उनीसामु आएर माइक तान्न खोजे । उद्घोषिकाले केही भनेपछि ब्याक हटे र दुवै हात अगाडि राखेर आफ्नो सिग्नेचर पोजमा उभिए । साथै, उनी जोसित पनि आलिंगन र कानेखुसी गरिरहेका देखिन्थे ।

बालेनको प्रस्तुतिमाथि विभिन्न टीकाटिप्पणी भएका छन् । कार्यक्रमको लाइभ प्रशारण हुँदा नै ‘मेयर झ्यापमा’ भन्दै अत्यधिक कमेन्ट आएका थिए ।

बालेनका सबैभन्दा निकट सहयोगी कुमार बेन भने सो कार्यक्रममा सहभागी हुँदा मेयरले मदिरा सेवन नगरेको बताउँछन् । उनले थकानका कारण शरीर र आवाज अलिकति असन्तुलित भएको हुन सक्ने दाबी गरे ।

उनले भने, ‘त्यस दिन आधि सुटिङ बिहानै भइसकेको थियो । फाइनल रिजल्ट चाहिँ राति ११ बजेपछि सुरु भयो । दिनभरि बजेटको धपेडी पनि थियो । त्यसमाथि कार्यक्रम धेरै ढिला भएकाले स्ट्रेसले गर्दा बोली अलिकति लर्बरिएको हो । चर्चा भएजस्तो अरू त्यस्तो केही पनि होइन ।’