प्रधानमन्त्रीका छोरा जयवीरसिंहलाई पोस्न स्यानेटरी प्याडमा छुट

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले जयवीरसिंह देउवाको कम्पनीलाई फाइदा पुग्नेगरी स्यानेटरी प्याड आयातमा भन्सार छुट दिएको आशंका गरिएको छ । जयवीरसिंह प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा हुन् ।

जयवीरले स्थापना गरेको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङले विभिन्न सामान आयात र बिक्रीवितरण गर्दै आएको छ । यो कम्पनीले अहिले भन्सार छुट सुविधा पाएको स्यानेटरी प्याडको आयात पनि गर्दै आएको बताइएको छ ।

बजेटमा छुट सुविधाको व्यवस्था गरेपछि यो कम्पनीले अहिले विभिन्न मुलुकबाट ठुलो परिमाणमा प्याड आयात गर्ने तयारी गरेको पनि बताइएको छ ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

पूर्वअर्थमन्त्री शर्माले गत जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेटमा स्यानेटरी प्याड आयातमा लाग्दै आएको भन्सार शुल्कको ९० प्रतिशत छुट दिएका थिए । अर्कातिर प्याड उत्पादन गर्ने स्वदेशी कम्पनीले ल्याउने कच्चा पदार्थको भन्सार उल्टै बढाएका थिए ।

आयातमा भन्सार महसुल छुट दिने र आन्तरिक उत्पादनको कच्चा पदार्थ आयातमा महसुल वृद्धि गर्ने नीतिले आयातित व्यापारमा संलग्न व्यवसायीलाई दोहोरो फाइदा पुगेको छ । प्रधानमन्त्री पुत्र जयवीरको कम्पनीले पनि यही नीतिका कारण राम्रो मुनाफा पाउने निश्चित छ ।

बजेट निर्माणका क्रममा बिचौलिया प्रयोग गरेको आरोपमा अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएका थिए । यसबारे एउटा उच्चस्तरीय छानबिन समिति पनि बनेको छ ।

प्रधानमन्त्रीका छोरासँगको मिलेमतोमा प्याड आयातमा भन्सार छुट दिए पनि शर्माले रातो करविरुद्ध भन्सार शुल्क घटाएको दाबी गर्दै आएका छन् । जयवीरले स्थापना गरेको ब्लुप्रिन्ट ट्रेडिङ कम्पनीको चुक्ता पुँजी १ करोड रहेको छ। यो कम्पनीमा जयवीरले साझेदार पनि बनाएका छन् ।

उनले चितवनका हेमन्त बजगाईंलाई साझेदार बनाएको देखिन्छ। कम्पनीमा जयवीरको नाममा ७० प्रतिशत र बजगाईंको नाममा ३० प्रतिशत सेयर छ । कम्पनी आर्थिक वर्ष २०७४/७५ मा कम्पनी रजिस्ट्रारको कार्यालय काठमाडौंमा खोलिएको देखिन्छ। यसका अध्यक्षमा जयविरसिंह नै छन् ।