माओवादी बैठकमा मन्थन : ‘अध्यक्ष कमरेड तपाईं त महारथी नै हुनुहुन्छ !’

‘मेरो बुझाई गठबन्धन गर्न हुँदैन भन्ने होइन । तर किन गर्ने भन्ने हो । अध्यक्ष कमरेड, तपाईँ त महारथी नै हुनुहुन्छ। यहाँ हामी त रथी, उपरथी, कर्नेल, मेजर छौँ । ५० प्रतिशत भनेर सिधा कुरा राख्नुस् न तपाईँ ।’ माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार नेता झक्कु प्रसाद सुवेदीले राखेको धारणा हो, यो । उनले माओवादीको भूमिका अहिले पनि राष्ट्रिय राजनीतिमा ‘महारथी’ कै रहेको भन्दै आगामी गठबन्धनमा सम्मानजनक हैसियत हुनुपर्नेमा जोड दिएका हुन् । त्यसका लागि अध्यक्ष प्रचण्डले पहल गर्नुपर्नेमा उनले जोड दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ती केन्द्रीय सदस्यका अनुसार सुवेदीले पार्टीलाई सशक्त ढङ्गले परिचालन गर्ने हो भने २० लाख हाराहारीमा मत रहेको धारणा राखेका थिए । त्यो मतलाई रक्षा गर्ने गरी पार्टी अघि बढ्नुपर्ने उनको धारणा थियो । ‘एक्लै जाने हो भने पनि हामी सबै ठीकठाक हुन्छौँ । अपमानित भइराख्ने हो भने गठबन्धनको पक्षमा हुनुहुन्न । यो भित्रैदेखि लागेको कुरा हो’, उनको भनाइ थियो । अहिले संसद्‍मा पार्टीको उपस्थिति जति छ त्यो एक्लै जित्न सक्ने अवस्था रहेको पनि उनको दाबी थियो ।

थप समाचार
४६ माओवादी केन्द्रीय सदस्य ‘खुला छलफल’मा सहभागी, मंगलबार प्रचण्डले जवाफ दिने
​स्थानीय निर्वाचनमा गठबन्धन गर्दा काँग्रेसबाट धोका भएकोबाट पाठ सिक्नुपर्नेमा पनि उनको जोड रहेको ती सदस्यको भनाइ छ । सुवेदी जस्तै बैठकमा बोल्ने अन्य केन्द्रीय सदस्यहरूले पनि आगामी निर्वाचनमा गठबन्धन बनाउँदा पार्टीको हैसियत सम्मानजनक हुनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरूले चुनावलाई लक्षित गरेर पार्टीले प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिएका हुन् । केन्द्रीय सदस्य ओम शर्माले आगामी संघीय र प्रदेश निर्वाचनको सम्भावित परिणामले पार्टीको भविष्य निर्धारण गर्ने भएकाले पार्टीले वस्तुस्थितिको विश्लेषण गर्दै ऐतिहासिक निर्णय गर्नुपर्नेमा जोड दिए ।

शर्माले संसद्‍मा थकित अनुहारलाई निषेध गर्दै युवा पुस्तालाई प्राथमिकता दिइनुपर्नेमा पनि जोड दिए । ‘संसद्‍मा कार्यसम्पादन कमजोर भएका पुरानै र थकित अनुहार, भविष्यमा केही गर्न नसक्ने कमजोर व्यक्तिलाई रोजगारीका लागि मात्र संसद् पठाउने गल्ती गर्नुहुँदैन’, उनले भने, ‘यो प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशका तर्फ पनि लागू गर्नुपर्छ ।’