आजदेखि ललितपुर महानगर भित्र पानीपुरी बेच्न नपाइने

ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ।

पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।

पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ।

‘महानगरभित्रका सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी नबेच्न भनेका छौं’, नगर प्रहरी प्रमुख सीताराम हाथेछुले सेतोपाटीसँग भने, ‘कसैले पानीपुरी र चटपटे बिक्री वितरण गरेको पाइएमा कारबाही हुन्छ।’

पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको उनले बताए।

यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने बताए।

‘पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्रै विक्री वितरण गर्न दिइन्छ,’ उनले भने।

यसअघि काठमाडौंको बागबजार क्षेत्रमा बसोबास गर्ने दुई जनामा हैजाको जीवाणु देखिएको थियो। त्यस क्षेत्रका पानीका स्रोतमा हैजाको जीवाणु रहेको पाइएको थियो।

हैजा नियन्त्रणका लागि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन्।

‘प्रारम्भिक जानकारी अनुसार राजधानीमा हैजा सडक छेउमा बिक्री वितरण गरिने पानीपुरी लगायत खाद्य पदार्थको माध्यमले फैलिरहेको भनिएकाले यसलाई नियन्त्रणका लागि हामीले सुरूआत गरेका हौ’, उनले भने।