ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको पागलपनका कारण दुई पटक प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन् ।

अहिलेसम्मको प्रणालीमा सबैभन्दा ठूलो शक्ति तत्कालीन समयमा नेकपाले आर्जन गरेको भए पनि ओलीले त्यसलाई ढालेको उनको आरोप छ ।

खनालले ओलीलाई राजा महेन्द्रसँग तुलना गर्दै भने, ‘त्यो संसद् नेकपाको दुई तिहाइको शक्ति थियो । यो अहिले हामीले अङ्गीकार गरेको प्रणालीमा त्यो भन्दा ठूलो शक्ति कहिल्यै आर्जन हुन सक्दैन । तर, केपी ओलीले आफूलाई राजा महेन्द्रकै शैलीमा ढाले । हामी जतिसुकै प्रगतिशील कानून र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।’

नेता खनालले ओलीमा अहंकार अहिले पनि भएकाले पाँच दलीय गठबन्धन गर्नुपरेको बताए ।

कार्की ब्याङ्क्वेट बबरमहलमा आयोजित नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले भरत मोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी काम समेत कटौती गरिन्छ की भन्ने त्रास भएको बताए ।