देउवालाई अक्सफोर्ड माग्ने ढकालले भने-‘रवि र लिङदेनले प्रधानमन्त्री ताक्नु हुँदैन’

काठमाण्डौँ । एक समय बीबीसीको साझा सवालबाट चर्चामा आएका व्यक्ति हुन् ३१ बर्षिय युवा सागर ढकाल । बेलायतको चर्चित विश्वविद्यालय अक्सफोर्डमा मास्टर्स सकेर उनी अब नेपाल आउने तयारी गरेका छन् । सानैदेखि नेपालको कार्यकारी व्यक्ति अथवा प्रधानमन्त्री ‘युवा’ हुनुपर्छ भन्ने आवाज मुखरित गर्दै आएका ढकालको सन् २०१७ जुलाई १७ तारिखको दिन प्रसारण भएको साझा सवालको ५०० औँ भागमा तत्कालिन प्रधानमन्त्री रहनु भएका शेर शहादुर देउवासंग भेट भएको थियो । कार्यक्रम प्रसारणको दौरानमा उनले प्रधानमन्त्रीसंग केही प्रश्न राखेका थिए । त्यसमा उनीहरु दुईविच चर्काचर्की भएको थियो । देउवा आक्रोशित भएर ढकालसंग बाझाबाझमा उत्रिएका थिए ।

ढकालले त्यतिखेर प्रधानमन्त्रीसमक्ष राखेका थिए ‘लिक्वान यु लाई सिंगापुर दिँदाखेरि ढुंगा दिइएको थियो उनले हिरा बनाए तर नेपाल अर्थात् हिरा दिँदा तपाईँले ढुंगा बनाउनु भयो । अब यसको कारबाही कसलाई गर्ने ? र अर्को ऐतिहासिक प्रश्न ‘सिंगापुर, अमेरिका, चाइना बेलायत लगायतमा भएका अहिलेसम्मका प्रधानमन्त्रीहरु अति उत्कृष्ट विद्यार्थी थिए । बेलायतमा ७० बर्षदेखि अक्सफोर्डमा पढेका विद्यार्थी प्रधानमन्त्री बनेका छन् । तर नेपालमा ७० बर्षदेखि तपाईहरु हुनुहुन्छ । युवाले देशको नेतृत्व कहिले पाउँछन् ? एउटै ब्यक्ति ४ । ५ पटक प्रधानमन्त्री बनिरहने, तपाई कहिले विस्थापित हुने ? अति निरास छौ । हामीले मन बुझ्ने प्रधानमन्त्री कहिले पाउने ?

यसको उत्तर प्रधानमन्त्रीले स्वभाविक रुपमा दिएनन्, आक्रोशित भएर भने ‘नेपालमा जुन विद्यालय छ त्यही पढ्ने हो, कहाँबाट ल्याउने नेपालमा अक्सफोर्ड ? तपाई बढ्ता बोल्दै हुनुहुन्छ । तपाईले चाहदैमा हुने हो ? अक्सफोर्डमा पढाउने को छ नेपालमा ? मलाई जनताले चुनेको हो । तपाईले चाहेर हुने हो’ ?

यो सवालजवाफ सामाजिक संजालमा निकै भाइरल बनेको थियो । त्यसपछि ढकाल त्यही ‘इगो’ लिएर अक्सफोर्ड विश्वविद्यालयमा पढ्न गएका थिए । अहिले उनले मास्टर्स सकेका छन् । नेपालमा ४० बर्षमुनिका ब्यक्ति प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्ने अभियान चलाएर हिँडेका उनले अब आफू पनि प्रधानमन्त्रीको दौडमा लाग्ने बताएका छन् ।

ढकालले ४० बर्ष मुनिको युवा मुलुकको प्रधानमन्त्री बन्न पाउनु पर्ने राष्ट्रिय एजेण्डा सहित प्रस्ताव ल्याएका छन् । सो प्रस्तावमा विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय नेपाली बिज्ञहरुले सकारात्मक प्रतिक्रिया दिएका उनले दैनिक अनलाइनसंग बताए ।

पुर्वाधारबिद् सुर्यराज आचार्य, अर्थविद् स्वर्णिम वाग्ले, अक्सफोर्ड विश्वविद्यालयका सनातन धर्मका प्राध्यापक दिवाकर आचार्य, कुल चन्द्र गौतम (नेपालको तर्फबाट संयुक्त राष्ट्र संघको सबैभन्दा उच्च पदमा पुगेका ब्यक्ति) लगायतले आफ्नो प्रस्तावमा लिखित प्रतिक्रिया दिएका उनले बताए । विज्ञहरुको सुझाब मनन गर्दै आगामी चुनावमा अधिकांस उम्मेदवार ४० बर्ष मुनिको उठाएर, ४० मुनिकाहरुलाई नै प्रधानमन्त्री बनाउने योजना ढकालले बुनेका छन् ।

आफ्नो योजनामा सबैले समर्थन् गर्ने भन्दै उनी भन्छन् ‘म यो अभियान सफल बनाउनको लागि प्रधानमन्त्री हुन पनि तयार छु र कुनै पनि राजनैतिक पद नलिने महात्मा गान्धी वा विवेकान्द पनि हुन तयार छु ।’

‘नेपालमा हजुरबुबा पुस्ता फेल भए, ४५।५५ का बुवा पुस्ता पनि टुलुटुलु हेरेर मात्र बसिरहे । त्यसैले अब हामी युवाले दुवै पुस्तालाइ ओभरटेक गर्ने हो, हामी पनि टुलुटुलु हेरर बस्ने काम गर्न सकिँदैन । किनकि यो देशलाई चाँडै विकसित देश बनाउनु छ, ढकाल भन्छन् ।

उनले नेपालको उर्जा मन्त्रालयमा इन्जिनियरको रुपमा २ वर्ष काम गरिसकेको पनि अनुभव सुनाए । उनले थप भने ‘अक्सफोर्डबाट मास्टर्स गरेको छु, ८।१० देशमा फोहोर व्यवस्थापन, खानेपानी, हाइड्रोपावर लागायका क्षेत्रमा अन्तराष्ट्रिय इन्जिनियर भएर काम गरिसकेँ, २० देश घुमिसकेँ, चीनको अन्र्तराष्ट्रिय संस्थामा काम गर्दा चीन सरकारलाइ नै सल्लाहा दिएको छु । ३२ बर्षे बालेनले काठमाडौ सम्हाल्न सक्छन भने म पनि ३१ बर्षको भएँ । एउटा सानो र सुन्दर देशको प्रधानमन्त्री किन हुन सक्दिन? प्रधानमन्त्री भएर सजिलैसंग मुलुक परिवर्तनको काम गर्न सक्छु ।’

भर्खर नयाँ पार्टी खोलेका रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई उनले आफ्नो अभिभावक र आदर्श पात्र माने पनि प्रधानमन्त्री पद नताक्न आग्रह गरेका छन् । उनी भन्छन् ‘उहाँहरु पनि ५० मुनिको र ४० माथिको हुनुहुन्छ । आफ्नो पुस्तासंग सल्लाह दिने पदमा बस्दा उपयुक्त हुन्छ उहाँहरुलाई । वुवाको पुस्ताका रवि र लिंगदेनले तमाम स्वतन्त्र युवाहरुलाई समेटेर अगाडि बढ्नु पर्छ, तर प्रधानमन्त्री ताक्नु हुँदैन ।’

मुलुकका १६५ क्षेत्रमा एकएक सक्षम युवाहरु र अरु ४। ५विद्वान ब्यक्तिहरु साथमा हिँडेर क्याम्पेन गर्न सके हर्क साम्पाङ तरिकाले प्रधानमन्त्री हुनसक्ने बताए। मुलुक बनाउने यो अभियानमा जोडिन पनि उनले सबैमा आग्रह गरे ।

परिवर्तनका संवाहक अभियान (नेपाल चेन्ज मेकर लिग) ले आगामी निर्वाचनमा कसरी स्वतन्त्र विचारधारा र स्वच्छ छवि भएका स्वतन्त्र र पार्टीका इमान्दार नेताहरूलाई छान्ने र चुनाव जिताउन सहयोग गर्ने भन्ने विषयमा केही दिनअघि काठमाण्डौँमा भर्चुअल छलफल गरेको थियो । त्यही कार्यक्रममा उनले प्रधानमन्त्रीको विषयमा पनि बोलेका थिए । आफ्नो एजेण्डा बिभिन्न स्वतन्त्र पार्टीहरुले पनि स्विकार गरेकोमा आफू खुसी भएको उनले बताए ।