नेकपा (एस)का अध्यक्ष नेपाल र गृहमन्त्री खाँणबीच भेट

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाँणले भेटघाट गरेका छन् ।

एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन मामिला हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए ।

अध्यक्ष नेपालसँग भने पार्टीका नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए । भेटमा नागरिकता विधेयक चालु संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको छ ।

‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप गृहमन्त्रीज्यूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको हो । कुराकानी सकारात्मक भएको छ,’ गृहसचिव पाण्डेले भने ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाँणले सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाललाई भेट गरेका हुन् ।

गृहमन्त्री खाँणले विभिन्न भेटका क्रममा नागरिकता विधेयकबारे पटकपटक दलहरूसँग छलफल गरेका छन् । उनले यसअघि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्नेबारे भेट गरिसकेका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस गरेको छ । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अंगीकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।