जीवन मरणको लडाइँ जितेर आयौं : अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनबाट पार्टीले जीवन मरणको लडाइँ जितेर आएको बताएका छन् । स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रममा उनले एमाले सबैभन्दा बढी लोकप्रिय मत पाएको बताए ।

‘हामीले ती प्रयासमा जीवन मरणको लडाइँ लडेका थियौँ। एमालेले लडेको जीवन मरणको लडाइँ जितेर यहाँ आयौँ, ’ ओलीले भने, ‘हाम्रो अस्तित्व मेटाउन खोजिएको थियो। तर आज पनि देशको प्रमुख राजनीतिक शक्ति हौँ ।’

गठबन्धनका नाममा बनेको तानाशाहीविरुद्ध  बलियो प्रतिरोध गरेको उनको भनाइ छ । ‘राज्य शक्ति लगाएर, पैसा बाँडेर मतदाता रिझाउन खोजे पनि त्यसलाई हामीले पराजित गरेका छौँ,’ ओलीले भने ।

‘नेपालमा कम्युनिस्ट आन्दोलन सिध्याउन र विकास रोक्न ठूलो षडयन्त्र भएको उनले बताए ।  ओलीले भने, ‘गएका डेढ दुई वर्ष हामी अग्रगमन विरोधी, स्थिरता र स्थायित्व विरोधीसँग जुध्यौँ।’ ओलीले एमालेबाहेक अरु दलसँग देश विकासको भिजन नै नभएको दाबी गरे । ओलीले भने, ‘एमालेबाहेक अरु दलसँग कुनै देश विकासको भिजन छैन।’ उनले नेपालमा कम्युनिस्ट आन्दोलन सिध्याउने षडयन्त्र भएको पनि बताए।

उनले यस्तोअवस्थामा पार्टीका निर्वाचित जनप्रतिनिधिलाई पाँच वर्ष सक्षम बन्ने गरी काम गर्न निर्देशन दिए। ‘आफ्नो कार्यकाल पूरा गर्दा आफ्नो हाइहाइ हुने गरी काम गर्नुहोला। पाँच वर्षको कार्यकाल पूरा गर्दा तपाईंहरुको नाम हाइहाइ होस्,’ उनले भने।

उनले आलोचना सुन्न नपरोस्, प्रशंसा होस् भन्दै राम्रा काम गर्न निर्देशन दिए । ‘स्थानीय तहमा कसरी काम गर्नुपर्छ भनेर नमूना हुनुस्। जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधा उपलब्ध गराउनुस्। जनताको सेवामा सधैँ तत्पर रहन सक्नुस्,’ उनले भने।