माधव नेपालले भने- विदेशी सेना नेपालमा छन् भन्ने मैले पहिलोचोटि सुनेँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा विदेशी सेना रहेको आफूले पहिलो पटक सुनेको भन्दै स्पष्ट पार्न माग गरेका छन्।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भीर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गरे।

‘विदेशी सेना नेपालमा छन् भन्ने मैले भर्खरै पहिलोचोटि सुनेँ। त्यो हो भने गम्भीर कुरा हो। कहाँ छन्। कुन कुन देशका छन्। कुन क्याम्पमा राखिएको छ। त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ। सरकारको ध्यानाकर्षण गराउनुपर्छ’, उनले भने।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्नेसमेत बताए।

अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरू उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन्।

उनले भ्रमणमा देशलाई उचित हुने भन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरू सरकारले गर्न नहुनेतर्फ सचेत गराए।
अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताए। उनले परराष्ट्र नीतिको विषयमा कुनै पनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने स्पष्ट पारे।

अध्यक्ष नेपालले सरकारका परराष्ट्र मन्त्री अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउन उपस्थिति जनाउनुपर्ने दोहोर्‍याए।

‘नेपालले कुनै पक्षमा नलाग्ने असंग्लन परराष्ट्र नीति लिएका छौं। त्यो नीतिमा सरकार अविचलित रूपमा अगाडि बढ्नुपर्छ। सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रूपमा राख्नुपर्छ। यो मामिलामा कुनै किसिमको दबाब, धम्की हामीलाई स्वीकार्य हुन सक्दैन’, उनले भने, ‘परराष्ट्र नीति कस्तो बनाउने र कसरी अगाडि लैजाने विषयमा राष्ट्रप्रति माया गर्ने राष्ट्रिय शक्तिहरूको बीचमा नै छलफल गर्ने आवश्यकता पर्छ।’

उनले नेपालको वैदेशिक ऋण साहयता लिने कुरामा धेरै त्रुटिहरू रहेको भन्दै यसको पनि परिर्वतन गर्न पाए हुने बताए।