यो कांग्रेसको एकलौटी सरकार होइन, धेरै दाबी नगरौं: देउवा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन्।

आज काठमाडौंमा भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले विभिन्न विषयमा कांग्रेस नेता/कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका थिए।

‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन।’

उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने सम्मेलनमा उपस्थित भएकाहरूलाई जानकारी गराएका थिए।

कार्यक्रममा प्रधानमन्त्री देउवाअघि बोलेका ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कांग्रेसकै नेतृत्वमा सरकार हुँदा आम श्रमिकलाई स्थापित गर्ने गरी कानून आए पनि त्यो कार्यान्वन नभएको बताएका थिए।

‘तर दुर्भाग्यका साथ भन्नुपर्छ- यो कानूनलाई लागू गर्ने दिशामा कांग्रेस नेतृत्व र कांग्रेसकै सरकार उदासिन छ। म सभापतिलाई आग्रह गर्छु- श्रमिकलाई भोटको मात्र माध्यम नबनाउन आग्रह गर्छु।’