काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आउँदै, बालेनको ‘भिजन’मा तीनदलको घोषणापत्र यसरी गरिँदैछ फ्युजन

स्थानीय तहको निर्वाचन सम्पन्न भएर सम्पुर्ण जनप्रतिनिधिहरुको पदभार ग्रहण संगै अब काठमाडौं महानगरपालिका आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न केन्द्रित भएको छ ।

यसका लागि महानगरले ३ सदस्यीय मस्यौदा समिति समेत बनाएको छ।

चुनावताका बालेन्द्र शाहले ल्याएको भिजन र उपमेयर सुनिता डंगोलको आठ खम्बे विकास मोडेललाई समितिले आफ्नो नीति तथा कार्यक्रममा समाबेश गर्दैछ ।

नीति तथा कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादीका घोषणापत्रलाई पनि फ्युजन गरिने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको भिजन अनुसार असार ५ गतेभित्र नीति तथा कार्यक्रममा आउने महानगर निकट स्रोतले जानकारी दिएको छ ।

असारको पहिलो हप्ता महानगर प्रमुख बालेन्द्रका तर्फबाट नीति तथा कार्यक्रम लाइभ गरिने तयारी रहेको छ । त्यस्तै असार १० गते उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गर्ने तयारी रहेको छ ।

बजेट प्रस्तुत भइसकेपछि ५ दिनको समय सिमा तोकेर निर्वाचित जनप्रतिनिधिहरुलाई अध्ययन गर्न दिइनेछ। त्यसपछि आर्थिक विधेयक, विनियोजन विधेयकहरुमाथि छलफल भई पारित गरिनेछ।