सरकार मल होइन, ‘माल’ खोज्दै छ : भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकार मल नभइ ‘माल’ खोजिरहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार मलको सट्टा ‘माल’ खोजिरहेको बताएका हुन् । यसैगरी, भट्टराईले बाली लगाउने समयमा पनि मलको हाहाकार भइरहेको सरकारलाई सम्झाए ।

‘यो समयमा मल खोज्न भारत जानु भएका कृषिमन्त्री कहाँ पुग्नुभयो, मल आउँछ कि आउँदैन,’ उनले सरकारलाई प्रश्न गरे, ‘मल नपाएपछि थकित भएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका पनि छ ।’

‘यो सरकारले मल ल्याउन सकेको छैन । मलमा ‘माल’ खोजिरहेको छ,’ भट्टराई भन्छन्, ‘जबसम्म माल आउँदैन । तबसम्म मल आउनेवाला छैन ।’ किसानले मल खोजेको बताउँदै मालको पछि लाग्ने मन्त्री नखोजेको उनको भनाइ छ ।