जिसस गाेरखामा माओवादीकाे एकल उम्मेदवारी, प्रमुखमा माेहन थापा, उपप्रमुखमा लीला

गाेरखा– जिल्ला समन्वय समिति (जिसस), गाेरखामा नेकपा (माओवादी केन्द्र)ले एकल उम्मेदवारी दिएकाे छ । माओवादी केन्द्रका नेताका अनुसार जिसस प्रमुखमा माओवादीका गाेरखा नगरपालिकाका माेहन थापाकाे उम्मेदवारी परेकाे हाे ।

जिसस निर्माणमा प्रष्ट्र बहुमत रहेकाे माओवादीले प्रमुखसहित अन्य पदमा पनि एकल उम्मेदवारी दिएकाे छ । जिसस उपप्रमुखमा शहिद लखन गाउँपालिकाकी लीला परियारकाे उम्मेदवारी परेकाे छ ।

सदस्यमा गण्डकी गाउँपालिका शिवप्रसाद रेग्मी, वारपाक सुलिकोट गाउँपालिकाका मोहन ढकाल, भीमसेनथापा गाउँपालिकाका मोहोम्मद हकिम, पालुङटार नगरपालिकाका गंगा बहादुर वयालकोटी, धार्चे गाउँपालिकाकी प्रमिना घले, सिरानचाेक गाउँपालिकाकी मीरा उपरकोटी र अजिरकोट गाउँपालिकाकी ईन्दिरा देबकोटाकाे उम्मेदवारी परेकाे हाे ।

एघार स्थानीय तह रहेकाे गाेरखामा आरूघाट र उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकाबाहेक अन्य स्थानीय तहका सदस्यकाे उम्मेदवारी परेकाे हाे । जिससमा प्रमुख, उपप्रमुखसहित नाै जना रहने छन्। समितिमा तीन सदस्य महिला अनिवार्य हुनेपर्नेछ ।

केन्द्रीय नेताकाे चासाे, थिएन माओवादीकाे तयारी

जिसस प्रमुख तथा उपप्रमुख बन्न केन्द्रीय स्तरका नेतालेसमेत चासाे राख्दै आएका थिए । तर, २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा दुई स्थानीय तहकाे प्रमुख तथा चार स्थानीय तहकाे उपप्रमुख जितेकाे माओवादीले जिल्लाका नौं स्थानीय तहमा जित्छु भन्ने कल्पनानै गरेको थिएन ।

नेपालभर सत्तारूढ चारदलवीच गठबन्धन भएको भएपनि गोरखामा राष्ट्रिय मान्यता पाएका पाँच दल एकलरूपमा चुनावी मैदानमा होमिएका थिए । पछि गाेरखा, गण्डकी, चुमनुव्री र धार्चेमा जनता समाजवादी पार्टीसंग तालमेल गरेकाे माओवादीले अनपेक्षित नतिजा हात पार्न सफल भयाे ।

माओवादीले बैशाख ११ गते बेलुकासम्म दुई पालिका प्रमुख र चार उपप्रमुख पाए कांग्रेससंग गठबन्धन गर्ने योजना बनाएको थियो । माओवादीका गण्डकी प्रदेश ईन्चार्ज हितराज पाण्डको अडानका कारण गठबन्धन फेल भएपछि माओवादीले जिल्लाका एघार स्थानीय तहमा नै उम्मेदवारी दिएको थियो ।

उम्मेदवारी फिर्ता गर्ने समयसिमा बैशाख १६ गते तथा निर्वाचनको अघिल्लो दिन (बैशाख २९ गते) सम्म गठन गर्न कम्मर कसेर लागेका गोरखाका माओवादी नेतृत्व निर्वाचनपछि जस लिने होडमा लागेका थिए । जिल्लाका नेतृत्वले कसैको आदेशमा जिल्लाका स्थानीय तह जिताउन ‘रणनीतिक योजना’ बनाउन सफल भएकोसम्म भन्न भ्याएका थिए ।

तर, माओवादी जिसस गठनका लागि तयारी नगर्दा समस्यामा प¥याे। गत मंगलबार विहानबाट पोखरामा सुरू भएकाे बैठक राति अबेरसम्म बसेको थियाे । बैठकले जिसस उम्मेवार टुङ्गाउन नसकेपछि गोरखामा बसेको बैठकले उम्मेदवारी टुङ्गाएको हो । काठमाडौंबाट आएका केहि केन्द्रीय स्तरका नेताको हस्तक्षेपपछि उम्मेदवारी टुङ्गिएको स्रोतको दावी छ ।

जिसस बन्न प्रत्यक्ष निर्वाचित सदस्यले मात्रै पाँउने प्रावधान भएको भन्दै अन्य गाउँसभा तथा नगरसभाका मनोनित तथा निर्वाचित सदस्यलाई चुप लगाएको माओवादीले निकै ‘रक्सारक्सी’पछि जिससको उम्मेदवारी टुङ्गाएको हो ।

जिसस प्रमुख बन्न अजिरकोटका सनिल परियार, गण्डकीका रेग्मी र बारपाकका ढकालले आंकाक्षा व्यक्त गरेका थिए । २०७४ काे स्थानीय निर्वाचनपछि गाेरखामा जिसस नेपाली कांग्रेसले एकलरूपमा निर्माण गरेकाे थियाे ।

के छ व्यवस्था

स्थानीय तह निर्वाचन ऐन ०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिसस प्रमुखमा उमेदवार हुन पाउने नियम छ ।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरु पदेन सदस्य हुनेछन् ।

जिसस कार्यकारी हुनेछ भने जिल्ला सभा कार्यकारी नहुने र वर्षको एकपटक यसको सभा हुने ऐनमा व्यवस्था रहेको जानकारहरू बताँउछन् ।