काठमाण्डौमा भाडामा बसेर पढिरहेका आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुल्हाे

काठमाण्डाै – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुल्हाेका लागि आवेदन दिन आग्रह गरेको छ ।

केन्द्रले आज सूचना निकालेर काठमाण्डौबाहिरबाट आएर  भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीबाट आवेदन माग गरेको हो ।

विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासकोे मूल्य बढेकाले समस्यामा पारेको हुँदा राहतका लागि विद्युतीय चुल्हाेको आवेदन माग गरेको केन्द्रले जनाएको छ । तोकिएको समूहका विद्यार्थीले शिक्षण संस्थाको सिफारिस, परिचय पत्रको प्रतिलिपिसहित आउँदो असार ९ गतेभित्र केन्द्रमा मागपत्र पेश गर्न सक्नेछन् ।

केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालका अनुसार सरकारी क्याम्पसमा अध्ययन गरेका विद्यार्थीको मागका आधारमा नि:शुल्क विद्युतीय चुल्हाे वितरण हुनेछ । केन्द्रले यसअगाडि दुर्गम क्षेत्रबाट काठमाण्डौमा आएर अध्ययन गरेका विद्यार्थीबाट ८ हजार ३ सय माग सङ्कलन गरेको छ । उनीहरुलाई यो आर्थिक वर्षभित्र चुल्हाे वितरण गरिने केन्द्रले जनाएको छ ।