रियल अभियन्ता अर्थात धरान उपमहानगरका प्रमुख, कसरी भयो हर्क साम्पाङको उदय ?

काठमान्डौ – सामाजिक सञ्जालमा चर्को स्वरमा सरकारको आलोचना गरेर सामाजिक अभियन्ताको ट्याग भिर्ने हरुको बिचमा हर्कराज राई साम्पाङ अर्थात धरान उपमहानगरपालिका मेयर रियल सामाजिक अभियन्ताको रुपमा स्थापित भएका छन्।

२०७४ निर्वाचनमा धरान उपमहानगरमा मेयरको स्वतन्त्र उम्मेदवारको रुपमा जम्मा ५४० मत मात्रै पाएका उनले अहिले आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिएकै कारण सम्पूर्ण धरान बासीको मन जितेर रियल सामाजिक अभियन्ता अर्थात धरान उपमहानगरपालिकाको मेयर बनेका हुन्।

कसरी भयो साम्पाङको उदय

बैदेशिक रोजगारीको शिलशिलामा केही वर्ष इराक र अफगानिस्तान बसेर धरान फर्किएका हर्क साम्पाङले धराने युवाहरुलाई अङ्ग्रेजी भाषा पढाए । केही समय कम्प्युटर सिकाए । यो उनको रोजिरोटीको उपाय थियो ।

धरान उपमहानगर–१८ बुद्ध चोकमा साम्पाङको निवास छ । त्यहीँ ‘धनकुटे रोड’ नामको सडक छ । भलै, यो धरानबाट धनकुटा जाने बाटो भने होइन । २०७२ सालमा त्यही धनकुटे रोड विस्तारको आयोजना कार्यान्वयमा थियो । तर, त्यहाँका स्थानीयले यसको विरोध गरे । सडक बढाउँदा घर भत्किने भएकाले स्थानीय आन्दोलनमा उत्रिए ।

त्यही आन्दोलनमा साम्पाङ पनि देखिन्थे । सडक विस्तारमा उनको घर पनि भत्किने भएकाले उनी सडक विस्तारको विरोधमा थिए ।  विस्तारै सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका साङपाङले राष्ट्रिय एकता सञ्जाल गठन गरे । मन मिल्नेहरुलाई त्यसमा सहभागी गराए ।

साम्पाङको राष्ट्रिय एकता सञ्जालले धरानको सार्वजनिक एजेण्डामा आआफ्नो तरिकाले आवाज उठाथ्यो । विरोध प्रदर्शन गर्थ्यो । स्थानीयलाई सचेत गराउँथ्यो । कतिपय अवस्थामा दुवै फोरमले मिसिएर सार्वजनिक मुद्दामा बसह पैरवी गर्थे ।

धरानको सबैभन्दा ठूलो समस्या हो– खानेपानी । नगरपालिकाले एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा धरानमा खानेपानी वितरणको योजना  बनायो । एडीबीले २ अर्ब ऋण दियो । परियोजना सम्पन्न पनि भयो तर, खानेपानीको समस्या झन विकराल भयो । धरान उपमहानगरको जनप्रतिनिधि र कर्मचारीलाई खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोप लाग्यो । साम्पाङले यही मुद्दालाई बलियो गरी उठाए । तर, यसलाई पुष्टि गराउने प्रयास भने कसैले गरेन ।

धरानमा उपमहानगर र खानेपानी संस्थानको बीचमा खानेपानी परियोजनालाई लिएर शितयुद्ध थियो । खानेपानी संस्थानले सप्तकोशीबाट सुनसरीको चतरा हुँदै धरानसम्म खानेपानी ल्याउने भन्दै विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरेको थियो । संस्थानले नै उक्त काम गर्न सक्ने भएकाले एडीबीको परियोजना नचाहिने संस्थानका कर्मचारीको तर्क थियो । उपमहानगर भने खानेपानी बोर्ड बनाउने र संस्थानलाई पनि मिसाउने योजनामा थियो ।

उपनिर्वाचनबाट मेयर बन्नु अघि कांग्रेसका तिलक राई पनि खानेपानी संस्थानबाटै धरानमा पानी वितरण गर्ने पक्षमा थिए । मेयर निर्वाचित भएपछि उनैले बोर्ड बनाए र संस्थानलाई बोर्डमा गाभिदिए । उपमहानगरको मेयर बोर्डको अध्यक्ष हुने व्यवस्था छ ।

उता साम्पाङले भने निरन्तर यसको विरोध गरिरहे । कहिले खोनपानीकै विषयमा भानु चोकमा विरोध प्रदर्शन गर्थे त कहिले नगरपालिकाको कार्यालयमा । उनी अहिले पनि सप्तकोशीको पानी नै धरानमा ल्याउनुपर्ने पक्षमा छन् ।

खानेपानीसँगको उनको अभियान यति स्थापित भयो कि धरानमा कसैको घरमा पानी आएन भने साम्पाङलाई फोन गर्थे । साम्पाङ त्यहाँ पुग्थे र खानेपानी बोर्डका कर्मचारीसँग समस्या समाधानको प्रतिवद्धता खोज्थे । कतिपय अवस्थामा फेसबुकमा लाइभ गरेर खानेपानी समस्याको उजागर गरिदिन्थे ।

स्थिति यतिसम्म भयो की, खानेपानी बोर्डका कर्मचारीलाई साम्पाङको समूहले मूहान अवलोकनमा गएको बेला कुटिदियो ।उनले मेयरको उम्मेदवार हुँदा यही खानेपानी समस्या समाधानलाई मुख्य एजेण्डा बनाएका थिए । धरानमा साम्पाङको अर्को परिचय टेम्पो व्यवसायीको पनि हो । धरानमा उनको ३–४ वटा टेम्पो चल्छन् । टेम्पो उनले ठेक्कामा अरुलाई चलाउन दिएका छन् । उनैको पहलमा धरानमा टेम्पो एकता संघ बनेको छ ।

२०७५ मा भाडाको विषयलाई लिएर टेम्पो व्यवसायी आन्दोलिन भएका थिए । त्यसबेला, उपमेयर मञ्जु भण्डारी कार्यबाहक मेयर थिइन् । यसमा भण्डारी र टेम्पो व्यवासायी बीच टसल भयो । त्यसको पृष्ठभूमीमा साङपाङ नै थिए ।

साम्पाङले आफूलाई स्थापित गरेको अर्को मुद्दा हो सर्दु–सेउती खोलाको दोहन । नगरपालिकाका मेयर तिलक राईले खोलाको गिटी बालुवा ठेक्कामा लगाउने निर्णय गरे । ठेक्का हात पारे भीम पौडेलले । पौडेल अहिले उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष छन् । उनी कांग्रेसको सुनसरी–२ का महाधिवेशन प्रतिनिधि पनि हुन् ।

बस्तीलाई नै जोखिम पार्ने गरी खोला दोहन हुन थालेपछि स्थानीयले दोहन रोक्न साम्पाङ समूह सक्रिय हुनुपर्ने मत राख्न थाले । २०७८ जेठको अन्तिमतिर खोलाको दोहन रोक्न साम्पाङ समूह पौडेलले ढुङुगा गिटी उठाइरहेको सर्दु खोलाको किनारमा पुग्यो । तर, उपमहानगर र प्रहरीको संरक्षणमा पौडेलका ट्रिपर चालकले साम्पाङ समूहमाथि आक्रमण गर्‍यो । साम्पाङ समूहका सदस्य राजेश राई गम्भिर घाईते भए । साम्पाङ समूहमाथि मुद्दा लाग्यो तर पछि त्यो केश मिलापत्रमा टुंगियो ।

उनीहरूले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकृतिलाई पनि उत्तिकै जोड दिएर उठाए । यिनै मुद्दाले साम्पाङलाई धरानमा सडक सत्ताको कमाण्डर बनायो । उनी कतिपय विषयमा एक्लै विरोध प्रदर्शन गर्थे । वैदेशिक रोजगारीमा रहेका युवाको विषयमा होस वा धराने जनताको अधिकार, भ्रष्टाचार होस वा सम्पदा दोहन सबै ठाउँमा साम्पाङको निगरानी हुन थाल्यो ।

आफ्नो अभियानमा धरानका मिडियाबाट बलियो साथ नपाएका साम्पाङले दिउँसै मोवाइलको लाइट बालेर ‘गैर दलीय’ पत्रकार खोज्ने अभियान चलाएका थिए । उनले नेता, कर्मचारी, पत्रकार कसैलाई छाडेका थिएनन् । सबैका विरूद्ध आक्रोश ओकल्थे । कतिपयले उनलाई धरानमा अराजकको उपमा पनि दिएका थिए ।

लामो समयदेखि धरानमा पत्रकारिता गरेका र उनको अभियानलाई नियाली रहेका पत्रकार गोपाल दाहाल भने कुनै पनि विषयमा एकोहोरो लागिरहने व्यक्तिका रुपमा साम्पाङलाई चिन्छन् ।  साम्पाङ माइक लिएर टेम्पोमा धरानका चोक–चोक पुग्थे । चोकमा एक्लै उभिएर टेम्पोमा राखिएको स्पिकरमा धरानका विकृतिविरूद्धका आवाज बोल्थे । विकृति विरूद्धको संघर्षमा उनलाई कुनै भीड र समूह चाहिँदैनथ्यो ।

उनले निर्वाचन जितेपछि टिकटमा भाइरल भइरहेको एउटा भिडियोमा उनलाई  सोधिएको छ, ‘एक्लै यसरी गरिएको विरोध कसले सुन्छ होला र रु’ साम्पाङले जवाफ दिएका छन्, ‘मेरो काम सुनाउने हो, सुन्ने नसुन्ने उनीहरूको कुरा हो । धरान र इटहरीका क्याम्पसमा अध्यापन गराइरहेका प्रा।डा। टंक न्यौपाने हर्क साम्पाङले धरानमा युवाहरुको प्रतिनिधित्व गरेको बताउँछन् ।