उपेन्द्रले छोरा, राजेन्द्रले दाई र मुख्यमन्त्री लालबाबुले पत्नीलाई बनाए पालिका प्रमुख उपप्रमुखका उम्मेदवार

पार्टीमा सक्रिय रुपमा काम गरेका नेताकार्यकर्तालाई बाइपास गरेर पार्टीको उपल्लो नेतृत्वमा रहेकाहरुले श्रीमती, छोरासहित परिवारका सदस्यलाई मेयर उपमेयरको उम्मेदवार बनाएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकामा उपमेयरको उम्मेदवार बनाएका छन्। बिराटनगरमा सत्तारूढ गठबन्धनको तर्फबाट यादवले छोरालाई उपमेयरको उम्मेदवार बनाएका हुन्।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना दाजु महेन्द्र महतोलाई गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन ाएका छन् । महतोले गृह जिल्ला सर्लाहीको चन्द्रनगर गाउँपालिकामा दाईलाई उम्मेदवार बनाएका हुन् ।

त्यस्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले श्रीमतीलाई नै गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार बनाएका छन् । पत्नी जलेखा खातुनलाई राउतले पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाइएका हुन् ।

खातुनले सोमबार जसपाबाट उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराएकी हुन् ।

पार्टी र राजनीतिमा सक्रिय नहरेकी खातुनलाई मुख्यमन्त्री राउतले आफ्नो जोडबलमा उपाध्यक्षको उम्मेदवार बनाएका छन् ।

मधेस आन्दोलनका शहीद सोहन साह कलवारकी पत्नी विनीता साह कलवारलाई जसपाले टिकट नदिएपछि उनले विवेकशील साझा पार्टीबाट वीरगञ्ज(१६ को वडाध्यक्षमा उम्मेदवारी दिएकी छिन्।