तेस्रो विश्व युद्धबारे पहिलो पटक चीनले मुख खोल्यो !

काठमाडौँ — रुस–युक्रेन द्वन्द्व चर्किरहेका बेला चीनले कसैले पनि तेस्रो युद्ध नचाहेको बताएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सम्बन्धित पक्षले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा एएफपीका पत्रकारले रुसी विदेश मन्त्री सेर्गेई लाभरोभले तेस्रो विश्व युद्धको सम्भावना रहेको चेतावनी दिएको कुरा उल्लेख गर्दै यसमा चीनको धारणा सोधेका थिए । उक्त प्रश्नको जवाफमा प्रवक्ता वेनबिनले भने, ’कसैले पनि तेस्रो विश्व युद्ध देख्न चाहेको छैन । दुवै पक्षले संयमता अपनाई शान्तिपूर्ण तवरले समस्या समाधान गरी छिटोभन्दा छिटो युरोप र विश्वलाई पुग्न सक्ने क्षतिलाई कम गर्न सक्नेछन् ।’

प्रवक्ता वेनबिनले सबै पक्षले अहिलेको अवस्थालाई मध्यनजर गर्दै वार्ता र मध्यस्थतामार्फत द्वन्द्व कम गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । त्यस्तै शीतयुद्धको ३० वर्षपछि फेरि युरोपमा किन अर्को भूराजनीतिक द्वन्द्व उत्पन्न भयो भन्नेबारेमा सुक्ष्म अवलोकन गर्नुपर्ने उनले बताए । गत फेब्रुअरी २४ यता रुस–युक्रेन द्वन्द्वमा ठूलो जनधनको क्षति भएको छ भने लाखौं शरणार्थी बनेका छन् । यसबीचमा राष्ट्रसंघलगायतले मध्यस्थताको प्रयास गरे पनि पूर्ण रूपमा दुई मुलुकबीच युद्धविराम हुन सकेको छैन ।

यता अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले नयाँ आक्रमणको प्रतिकार गर्न किभलाई आवश्यक हातहतियार दिन कुनै कसर बाँकी नराखिने अभिव्यक्ति दिएलगत्तै मंगलवार रुसी फौजले पूर्वी युक्रेनमा भयानक आक्रमण गरेको छ । मस्कोले अमेरिकाको यस्तो व्यवहारको कारण युक्रेन युद्ध लम्बिने चेतावनी दिएको थियो ।

रुससँगको दुई महिना लामो भिषण युद्धको दौरान युक्रेनलाई पश्चिमी हातहतियारले निकै सघाइसकेको छ । तर, युक्रेनी नेताहरुले तत्काल थप हातहतियारको माग गरिरहेका छन् । जर्मनीस्थिती संयुक्त राज्य अमेरिकाको ¥यामस्टेन हवाई अखडामा थप हतियारको आह्वानका लागि बसेको करिब ४० देशका अधिकारीहरु सम्मिलित बैठकलाई सम्बोधन गर्ने क्रममा अस्टिनले युक्रेनका लागि थप सहयोग आउँदै गरेको बताएका थिए । जर्मनीले युक्रेनलाई विमान भेदक बन्दुक दिने घोषणा गरिसकेको छ ।

सम्बोधनको सुरुमै अस्टिनले भनेका थिए, “यस बैठकले शक्तिशाली विश्वलाई प्रतिविम्वित गरेको छ । हामीले कुनै पनि हालतमा युक्रेनको हतियारको माग पूर्ति गर्न लागेकाले म यहाँ उपस्थित अधिकारीहरुलाई युक्रेनको सुरक्षा आवश्यकताबारे साझा र पारदर्शी समझदारी व्यक्त गरेर मात्रै बैठकबाट जान आग्रह गर्दछु ।”

युद्धको सुरुआतमा युक्रेनी फौजको कडा प्रतिकारका कारण रुसको राजधानी किभ कब्जा गर्ने प्रयास असफल भएको थियो । अहिले मस्कोले आक्रमण पूर्वी युक्रेनको औद्योगिक क्षेत्र तथा अधिकांश रुसी भाषी बस्ने दोन्वासमा केन्द्रित गरेको छ । यो क्षेत्रमा सन् २०१४ देखि नै रुस समर्थित पृथकतावादी लडाकुहरु सक्रिय छन् ।

रुसी फौजको आक्रमणका कारण हजारौं सर्वसाधारणको ज्यान जानुका साथै लाखौं व्यक्ति पलायन भइसकेका छन् । यसकै कारण विश्वभर खाद्यान्न र तेलको भाउ निकै वृद्धि भइरहेको छ । शितयुद्ध उत्तरार्धको युरोपको सुरक्षा सन्तुलन भताभुङ् भएको छ । दोन्वासको सानो सहर तोरेत्स्कमा मानिस वर्षाको पानी संकलन गरी बाँच्न सघर्ष गरिरहेका छन् ।

वेलायती रक्षा मन्त्रालयका अनुसार दोन्वासको क्रेमिन्ना सहर रुसी फौजको हातमा गएको छ । मारीउपोल सहरको एजोभ्स्टल स्टिल कारखानामा २४ घन्टाभित्र मात्र रुसी फौजले ३५ पटकभन्दा बढी हवाई हमला गरिसकेको छ । रुसी फौजले दोन्वास नजिकको खार्किभ सहरमा पनि आक्रमण गरेको छ । यता, रुसी विदेशमन्त्री सर्गे लाभरोभले तेस्रो विश्व निम्त्याउने खालले निहुँ नखोज्न र आणविक हतियार प्रयोग हुनसक्ने स्थितीलाई कम नआक्न चेतावनी दिएका छन् ।