क्रान्तिमा लाग्दै गर्दा हामीले आधुनिक जीवन कसरी बाँच्नु पर्छ भन्ने थाहा पायौँ : घनश्याम भूसाल

काठमाडौं ९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीलाई अप्ठेरो परेको बेला सडकमा निस्कने, पार्टीको निर्णय हो भनेपछि जे पनि गर्न तयार हुने आफ्नो कित्ता सबैभन्दा ठूलो भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवसका अवसरमा नेता भूसालले समाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

‘सबैलाई मिलाएर लैजान सक्ने हुनका कारणले हा आफुहरुले कम्युनिष्ट पार्टीको रक्षा गरेको दावी गरेका उनले भनेका छन्, समृद्धि र समाजवाद बचाएका छौँ । क्रान्तिले हाम्रो हैसियत नखोसोस् भन्ने मात्रै हाम्रो शर्त हो । पद र पैसाका पेशेवर खोजीकर्ता हामीहरु अहिले कम्युनिष्ट पार्टीमा एउटा कित्ता नै हौँ ।,

‘यो पार्टीले राज्य शक्तिको अभ्यास गर्न थालेपछि हामी पुराना पार्टीबाट क्रमशः यतातिर बसाईं सर्न थालेका हौँ । अब त हाम्रो संख्या ठूलै भएको छ र वंशजकै रुपमा नयाँ खाइलाग्दा नौजवान सदस्यहरु पनि थपिँदैछौँ । फेरि, हामीसँग केहि खास खुबीहरु छन् जसले हामी एक्लैदुक्लै हुँदा पनि अरु धेरैजनाले गर्ने काम, कहिले कहिँ पुरै संसद वा पुरै पार्टीले गर्ने काम पनि फत्ते गराउन सक्छौँ । त्यसैले हामी एउटा शक्ति भैसकेका छौँ ‘। उनले भनेका छन् ।

‘कम्युनिष्ट पार्टी निर्माण गर्न समर्पित भएर लागेका, सत्ताको दमनमा संयोगले बाँचेका तर आफ्नो बुद्धिको करामतले अहिले समाज, राज्य र पार्टीमा चुनौतिहीन हैसियत बनाएका हामीहरु यो पार्टीको निर्णायक कित्ता हौँ । हामी क्रान्तिमा लागेर हुक्र्यौँ र आधुनिक राज्य, पार्टी र समाज कसरी चल्छ भन्ने सबै कुरा हामीलाई थाहा छ । हाम्रो सबैभन्दा ठूलो सामथ्र्य के हो भने हामीलाई पार्टी के हो ? क्रान्ति के हो ? माक्र्सवाद, लेनिनवाद, माओवाद, जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद, समाजवादजस्ता पारिभाषिक शब्दाबलीको व्याख्या कसरी गर्नु पर्छ ? सबै थाहा छ ।’ उनले अघि भनेका छन् ।

क्रान्तिमा लाग्दै गर्दा आफुहरुले आधुनिक जीवन कसरी बाँच्नु पर्छ भन्ने थाहा पाएको भन्दै उनले यसक्रममा आफुसँगको हिमचीमले आफ्नो वरिपरी ठूलो सङ्ख्यामा मुद्रा, प्रविधि र व्यवस्थापनमा पारङ्गतहरुको पङ्ति तयार भएको बताएका छन् ।