ओलीले हेरेको कांग्रेसको वास्तु : हाप्सिला बोकेर हिँडेको छ, योभन्दा अलच्छिन के हुन्छ ?

८ वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठक बिहीबार काठमाडौंमा बस्यो । पार्टीको दशौं महाधिवेशन सकिएको ६ महिनापछि बसेको बैठकको उद्घाटनमा प्रमुख वक्ता थिए, एमाले अध्यक्ष केपी शर्मा ओली ।

आउँदै गरेको स्थानीय तहको निर्वाचन केन्द्रित सल्लाह दिन परिषद्ले बैठक बोलाएको थियो । तर ओलीले सल्लाहकार परिषदलाई उल्टै सल्लाह दिएर हिडेँ, त्यो पनि निर्देशनकै शैलीमा ।

एक घण्टा बढी सम्बोधन गरेका ओलीले सुरुमा एमाले र माओवादी केन्द्रबीचको एकता, एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको अन्तरसंघर्ष र आफू नेतृत्वको दुई तिहाइ बहुमतको सरकारले गरेको कामबारे चर्चा गरे । यो विषयमा चर्चा गर्दा ओलीले पटक पटक पुष्पकमल दाहाल प्रचण्डलाई ‘प्रचण्ड गुट’ भनेर सम्बोधन गरे, माधवकुमार नेपाललाई ‘माकुने’ भनेर ।

प्रचण्ड र माधव नेपालको कब्जामा पार्टीलाई जान नदिन आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिँदा पनि उनले ‘प्रचण्ड गुट’ र माकुने भनेर सम्बोधन गरे ।

सम्बोधनका क्रममा उनले सत्ता गठबन्धनको आलोचना गरे । झापामा पाँच दल नभएर ६ दलीय गठबन्धन बनेको भन्दा उनले माओवादी केन्द्रलाई ‘प्रचण्ड गुट’ र माधव कुमार नेपाललाई ‘माकुने’ भनेर सम्बोधन गरेका थिए ।