जनार्दनलाई गगनले नछाड्ने दिए यस्तो चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गभर्नर निलम्बन निर्णयमा आपत्ति जनाएका छन् । समस्याग्रस्त अर्थतन्त्रलाई बलियो बनाउन साझेदारी गरेर जानुपर्ने बेलामा गभर्नर निलम्बनको निर्णय गर्नु उपयुक्त नभएको थापाको भनाइ छ । उनले अर्थमन्त्री जनार्दन शर्माको सनक र उक्साहटमा गरिएको गभर्नर निलम्बनको निर्णयले कांग्रेसलाई नै क्षति पुर्याउनेमा चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, ’तर म एउटा सचेत नागरिक, राजनीतिक कार्यकर्ताको प्रथम दृष्टिमा यो सही छैन । मैले यसलाई सही भन्न सक्दैन ।’ उनले सरकारले अनावश्यक रुपमा प्रतिपक्षलाई मसला दिएको टिप्पणी गरे । नेकपा एमालेले अफ्ठेरो परिस्थितिमा आगोमा घ्यू थप्ने काम गरेको उनको आरोप छ ।

’हामी अहिलेजस्तो अवस्थामा छौं, जुन अवस्थाबाट गुज्ररहेका छौं, यो बेला त हाम्रो बीचमा साझेदारी चाहिन्छ । राष्ट्र बैंकले आफ्नो जिम्मेवारी, अर्थ मन्त्रालयले आफ्नो जिम्मेवारीहरु छ,’ उनले भने, ’सबै कुरालाई हेरेर सचेतकतापूर्वक सतर्क भएर काम गर्नुपर्ने बेलामा हामीले अनावश्यक रुपमा कपाल दुखाउने काम गरेका छौं । हामीले अनावश्यक रुपमा मसला दिएका छौं । मैले यसको औचित्य के भनेर बुझ्न सकेको छैन ।’

अर्थतन्त्र विगार्नमा अर्थमन्त्री शर्माको भूमिका ज्यादा हुने भए पनि प्रतिकुल समयमा गभर्नरलाई निशाना बनाउनु गलत भएको उनको भनाइ छ । ’पहलकदमीको लागि अर्थमन्त्रीको जुन तदारुकता चाहिने त्यो देखेका छैनौं । मैले अर्थमन्त्रीकै अगाडि भनेको हो । सोध्ने र सुझाव दिएर सच्याउन लाग्ने भन्ने थियो ।

बृहत्तर छलफल गर्ने भनेका बेला एकाएक गभर्नर निलम्बन गरियो । यो किन गरियोरु यसको जवाफ अर्थमन्त्री र प्रधानमन्त्रीले दिनुपर्छ । सरकारले दिनुपर्छ ।’ गभर्नर निलम्बनमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने भएपछि अर्थमन्त्रीको सनकका कारण यो निर्णय भएको थापाको तर्क छ । हस्तक्षेप किन नगरेको भनेर आफूले प्रधानमन्त्रीलाई भेटेर राख्ने र जवाफ माग्ने उनको भनाइ छ ।