हप्तामा दुई दिन बिदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं – बिहीबारको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर उक्त निर्णय सार्वजनिक भने गरिएको छैन ।

एक मन्त्रीले दिएको जानकारी अनुसार विहीबारको नियमित मन्त्रीपरिषदको बैठकले हप्तामा दुई दिन सार्वजनिक दिने निर्णय गरेको थियो । बिहीबारको मन्त्रिपरिषद बैठकका निर्णय संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक गरे गर्दा उक्त निर्णय सार्वजनिक गरिएको छैन ।

एक मन्त्रीका अनु्सार मन्त्रिपरिषदले शनिबार र आइतबार दुईदिन बिदा दिने निर्णय नीतिगत रुपमा मात्र भएकाले त्यसलाई सार्वजनिक नगरिएको हो ।‘शनिबार र आइतबार दुबै दिन बिदा दिएपछि शुक्रबारको आधा दिनको बिदा पनि कटौती गर्नुपर्यो ।

हप्तामै दुई दिन बिदा दिने भएपछि राष्ट्रिय बिदाको दिन पनि हिसाव गरेर कार्यान्वयन गराउनु पर्यो,’ ती मन्त्रीले भने, ‘यी सबै कामका लागि उपयुक्त गृहकार्य र काम अघि बढाउनुपर्छ । त्यसैले हतारमा निर्णय सार्वजनिक नगरिएको हुन सक्छ ।’ ती मन्त्रीका अनुसार दुई दिन बिदा दिने नीतिगत निर्णय भने भइसकेको छ ।