भरतपुरको मेयरमा गठबन्धनको तर्फबाट उठ्ने उम्मेदवारको लाग्यो टुंगो !

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तागठबन्धनमा भरतपुरको मेयरमा माओवादी केन्द्रकै उम्मेदवार रहने टुंगो लागेको बताएका छन् । भरतपुर २ मा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न चितवन आउनुभएका प्रचण्डले विमानस्थलमा सत्तागठबन्धनमा भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेदवार रहने दावी गरे ।

यस्तै ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन अझै लड्नुपर्ने र त्यसको विकल्प नभएको बताएका छन् । बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ‘इँटको जवाफ पत्थर’ ले दिनुपर्ने पनि बताए । माओवादी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले षड्यन्त्र गरिरहेको भन्दै उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने दावी गरे ।

‘जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नै पर्छ । देशपनि लडेरै बचाउने हो, संविधानपनि लडेरै बचाउने हो । लड्ने भनेको हतियार उठाउने होइन कसैले गुण्डागर्दी गर्छ भने इँटको जवाफ पत्थरले दिने भनेको हो’, प्रचण्डको भनाइ छ ।

बुधबारै चितवनको आँपटारीमा आयोजित दलितहरुलाई लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनबाट सुरु भएको लालपुर्जा वितरणको काम देशभर फैलने र सुकुम्वासी समस्या समाधान गर्ने बताए । कार्यक्रममा उनले दलित मात्रै नभएर सरकार सुकुम्बासी समस्या समाधान गर्नतर्फ लागिरहेको र दलितहरुले लालपूर्जा प्राप्त गरेको आजको दिन ऐतिहासिक भएको पनि बताए ।

प्रचण्डले त्यसको सुरुवात भरतपुरबाट भएको भन्दै सूचना प्रविधिको प्रयोग गरेर सेटेलाईटबाट नक्साङ्कन गरेर लालपूर्जा वितरणको काम भएकोमा खुसी व्यक्त गरे । ‘लालपूर्जा वितरण सुरुवात पहिलोपटक भरतपुर महानगरपालिकाबाट भएको छ । त्यसमा खुसी र गर्वको दिन हो । अब छिट्टै देशैभर लालपूर्जा वितरणको कामले तिब्रता पाउनेछ । यो देशभरी फैलिने छ’ प्रचण्डले भने, ‘भूमि समस्या जे जस्तो देखिएको छ । त्यो गठबन्धन सरकारले दलितको मात्रै नभएर सुकुम्बासी समस्या समाधन गर्ने भएको छ ।’

त्यसक्रममा उनले ७४ को चुनावमा रेणु चितवन आउदा प्रचण्डको छोरी भनेर चिन्ने गरेको स्मरण गर्दै अहिले रेणुको बुबा प्रचण्ड भनेर चिन्ने गरेको पनि बताए । ‘२०७४ सालमा चितवनमा रेणु आउँदा सबैले प्रचण्डको छोरी आइ भन्ने गर्थे । यद्यपि रेणुको आफ्नै त्याग, तपस्या थियो । रोल्पा रुकुमका जिल्लादेखि भारतका विभिन्न सहरमा भूमिगत रुपमा काम गरेका आफ्नै अनुभव थिए’ प्रचण्डले भने, ‘मलाई खुसी छ । प्रचण्डको छोरी होइन रेणुको बुवा प्रचण्ड भएको छ । महिलाहरुले चाहे भने धेरै गर्न सक्छन् भन्ने पुष्टि भएको छ ।’

उनले महिलाले आँट गरेमा गर्न सक्छन् भन्ने भूमि मन्त्री शशी श्रेष्ठदेखि उर्जा मन्त्री पम्फा भुसालले पुष्टि गरेको दाबी गरे । ‘महिलाहरुले चाह्यो भने धेरै गर्न सक्छन् भन्ने देखियो । मैले शशीजीलाई भूमि व्यवस्था मन्त्री बनाउँदा उहाँको इच्छाशक्ति र दृढता देखेर तपाईले सक्नुहुन्छ, तपाईले आँट गर्नुपर्छ भनेको थिएँ उहाँले गरेर देखाउनुभयो’, प्रचण्डले मन्त्री शशी श्रेष्ठलाई धन्यवाद दिँदै भने, ‘उर्जामन्त्री अहिले पम्फालाई बनाइयो उहाँले २० युनिट मुक्त गर्नुभएको छ, त्यसले लाखौ ग्राहक लाभान्वित भएका छन् ।’

प्रचण्डले तुलनात्मक रुपमा महिलाले अग्रसरता लिएको स्थानमा सफलतासँगै इमानदारिता र सुशासन बढी देखिएको बताए । ‘त्यसकारण महिलालाई धेरै ठाउमा पालिका प्रमुख र मेयर बनाउने मेरो विचार छ’, प्रचण्डले थपे, ‘यसले नै धेरै बेइमानी, जालझेल, षड्यन्त्र कम हुँदोरहेछ भन्ने देखिएको छ । महिलाकोमा जिम्मेवारी अर्कै खालको हुन्छ । त्यसको अर्थ सवै महिला हुन्छन् भन्ने त होइन’, प्रचण्डको भनाइ छ ।