इमरान खानकी पूर्वपत्नीले गरिन् यस्तो खुलासा, ‘उनको त्यो नै छैन, नभए म उनीसँगै हुने थिएँ’

पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो संकटको घडीमा छन् । पाकिस्तानी संसदमा खानविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । सम्भवतः अविश्वासको प्रस्तावमाथि आइतबार मतदान हुनेछ ।

३४२ सदस्यीय राष्ट्रिय सभामा खानलाई हटाउन १७२ को साधारण बहुमत आवश्यक हुन्छ । एउटा प्रमुख सत्ता साझेदारले गठबन्धन छोडेपछि खानले बहुमत गुमाइसकेका छन् । खानसँग अहिले १६४ सांसद छन् । यद्यपि, औपचारिक रूपमा उनी सत्तामा रहने या नरहने भन्नेबारे अविश्वासको प्रस्तावमाथि हुने मतदानको नतिजाले निर्धारण गर्नेछ । त्यतिबेला सम्म चमत्कार भएन भने खानको सत्ता पलट हुने निश्चित छ ।

भ्रष्टाचार विरुद्ध लड्ने र अर्थतन्त्रको समस्या समाधान गर्ने वाचा गर्दै २०१८ मा सत्तारोहण गरेका खानलाई विपक्षीले भ्रष्टाचार र आर्थिक अव्यवस्थाको आरोप लगाउँदै सत्ताच्युत गर्न लाग्दैछन् ।

तैपनि उनले पदबाट राजीनामा दिन अस्वीकार गर्दै अविश्वासको प्रस्ताव सामना गर्न दृढ देखिन्छन् । बरु विदेशीको षड्यन्त्रमा आफूलाई हटाउन खोजिएको उनको आरोप छ । आफ्नो लोकप्रियता प्रदर्शन गर्न आइतबार आयोजना गरेको समर्थकहरूको विशाल र्‍यालीमा एउटा पत्र हल्लाउँदै खानले आफ्नो सरकार गिराउन विदेशीले ‘भ्रष्ट चोरहरू’सँग साठगाँठ गरेको आरोप लगाएका थिए ।

बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै खानले नामै लिएर अमेरिकाको निर्देशनमा षड्यन्त्र भएको आरोप लगाएका थिए । आफ्नो विदेश नीतिबाट क्रुद्ध अमेरिकाले विपक्षीसँग मिलेर पदच्युत गर्न लागेको उनको भनाइ थियो ।खानको आरोपलाई अमेरिकी विदेश मन्त्रालयले ‘असत्य’ भन्दै अस्वीकार गरेको छ ।

यसैबीच, पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानले इमरान खान भ्रमित रहेको र कसैको सल्लाह नसुन्ने बताएकी छन् ।

इन्डिया टुडेसँगको अन्तर्वार्तामा पत्रकार समेत रहेकी रेहमले भनिन्, “इमरान खान भ्रमित छन् । उनी कसैको सल्लाह सुन्दैनन् । उनले सल्लाह सुनेको भए सायद म उनीसँगै हुने थिएँ । सायद अरुले उनलाई छोड्ने थिएनन् ।”

उनले इमरानलाई चाप्लुसी मन पर्ने पनि बताइन् । “उनी सेलिब्रेटी हुन्, जो केवल चाप्लुसी मात्र सुन्न चाहन्छन्,” उनी भन्छिन् । इमरानलाई धेरै मानिसहरूले सम्मानजनक रूपमा राजीनामा दिन भनेको प्रसंग उल्लेख गर्दै रेहमले भनिन्, “उनको शब्दकोषमा त्यो ‘सम्मान’ भन्ने शब्द नै छैन । हुँदो हो त म पनि उनीसँगै हुने थिएँ (अविश्वासको प्रस्ताव सामना गर्ने) बाटो रोज्ने थिएनन् ।”

इमराले लगाएको विदेशी षड्यन्त्रको आरोप बी ग्रेडका फिल्मको कथा जस्तै भएको पनि उनले बताइन् । “यो उनले बुनेको कथा हो, यो बी ग्रेडको फिल्मको प्लट जस्तै छ ।”