प्रचण्डकै अगाडी किन यसरी भक्कानिए प्रधानमन्त्री देउवा ?

काठमाडौं । सशस्त्र द्वन्द्वको बेला राज्य र विद्रोही पक्षबाट बलात्कृत महिलाका कुरा सुनेर मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा भक्कानिए । अनि आक्रोशित हुँदै भने, ‘कसैलाई छाड्नु हुँदैन, एकएक पीडकलाई जेल चलान गर्नुपर्छ ।’

बालुवाटारमा देउवासँगै बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्ता विषय संक्रमणकालीन न्यायसँग जोडिएको भन्दै सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत हल खोज्नुपर्ने बताए ।

द्वन्द्वमा मारिएकाहरूको तथ्यांक राज्यसँग छ । घाइते र अंगभंग भएकादेखि बेपत्ता नागरिकहरूको तथ्यांक पनि राज्यसँग छ । ‘अयोग्य लडाकु’ देखि भौतिक संरचनामा भएको क्षतिको विवरण पनि राज्यसँग छ । तर, राज्य र विद्रोही पक्षबाट बलात्कार तथा यौन हिंसा पीडित महिलाको भने कुनै तथ्यांक छैन ।

कष्टप्रद जीवन बाँचिरहेका बलात्कार तथा यौन हिंसापीडित महिलाहरूको अपेक्षा थियो– पीडितमध्ये कोही बोल्ला, म सघाउँला । नभए युद्धको नेतृत्व गरेको पार्टीको नेतृत्व बोल्ला । अहँ, कोही पनि बोलेन । पीडित र युद्धको नेतृत्व गर्ने पार्टी नै नबोले पनि नागरिकको पीडा सुन्ने राज्यको चरित्रै रहेन, उसले पनि सुनेन ।

यहीबीचमा, १० वर्षको सशस्त्र द्वन्द्वको क्रममा बलात्कार तथा यौन हिंसामा परेका महिलाहरू एकआपसमा संवाद र छलफलमा थिए । कति सहने, कति मौन बस्ने ? अन्ततः लामो प्रयासपछि उनीहरूले १४ चैतमा राष्ट्रिय सम्मेलन गरे । सम्मेलनबाट देवी खड्काको नेतृत्वमा १५ सदस्यीय ‘द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठन’ गठन भएको छ ।

संगठनको १७ जिल्लामा भेला सकिइसकेको छ भने देशका आधाआधी जिल्लाका यौन हिंसा पीडितसँग सम्पर्क र छलफल भइरहेको छ । संगठनकी संयोजक खड्काका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगमा द्वन्द्वकालमा बलात्कार तथा यौन हिंसासँग सम्बन्धित ३१४ वटा उजुरी छन् ।

‘यसरी औपचारिक रूपमा उजुरी दिने त केवल ५–१० प्रतिशत मात्रै हुन्, ९० प्रतिशत त उजुरी दिनसक्ने अवस्थामै छैनन्,’ उनी भन्छिन्, ‘उजुरी दिनेभन्दा पाँच गुणा बढी मानिस पीडित छन् र उनीहरू सरकारी तथ्यांकमा अटाउन सकेका छैनन् ।’

संगठन जन्मिएसँगै उनीहरू प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नो पीडा सुनाउन मंगलबार बालुवाटार पुगेका हुन् । जब यौन हिंसा पीडित महिलाहरूले भक्कानिँदै आफ्ना जीवनकथा सुनाउन थाले, तब प्रधानमन्त्री देउवा सम्हालिन सकेनन् र सुक्कसुक्क गर्न थाले ।

संगठनसँग जोडिएका केही महिलाले आफ्नो पीडादायी कथा सुनाउँदै भक्कानिन थाले । उनीहरूको त्रासदीपूर्ण विवरण सुनेर प्रधानमन्त्री रोए । लगत्तै एक हिंसापीडित महिलाले भनिन्, ‘सधैं हामी रुन्थ्यौं । आज प्रधानमन्त्री (सरकार प्रमुख) रुनुभयो । अब त केही हुन्छ कि ?’

उनीहरूले पीडा केही हल्का भएको अनुभूति पनि सुनाए । यही र यस्तै आशा बोकेर देशभरिबाट राजधानीमा जम्मा भएका यौन हिंसा पीडित महिलाहरू घर फर्किएका छन् ।
अहिले किन बोल्यौं ?

सामाजिक व्यवहार र असुरक्षाको कारण सबै यौन हिंसापीडित महिला अहिले पनि खुलेर आफ्नो पीडा सुनाउन सक्दैनन् । नवगठित ‘द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठन’की संयोजक देवी खड्काले संगठनको बारेमा बुधबार बानेश्वरमा केही सञ्चारकर्मीसँग छलफल गरिन् ।

पूर्वमन्त्री तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी खड्का यौन हिंसासँग जोडिएको कष्टपूर्ण संघर्षका कथा सुनाइरहँदा पटक पटक आफैं भक्कानिइन् ।

देश शान्ति प्रक्रियामा

‘म व्यक्तिगत रूपमा बोल्न चाहँदैनथेँ किनकी म बाँच्न चाहन्थेँ । आफैंले आफैंलाई सम्हालेँ, तीन महिना मानसिक बिरामीको औषधि खाएँ,’ उनले विगत सम्झँदै भनिन्, ‘६ महिना त म ओछ्यान परेँ, उठ्न सुत्न पनि कसैको सहारा चाहिन्थ्यो ।’

मनोपरामर्श गर्दै सामान्य जीवनमा फर्कन खड्कालाई दुई वर्ष लाग्यो । उनलाई मनोपरामर्शदाताले पनि भने, ‘कि तिमी यसलाई सामना गर्न तयार होऊ, होइन भने अरु कसैको कथा पुस्तकमा पढेँ भन्ने सम्झिएर यसबाट मुक्त होऊ ।’

उनी यसबीचमा आफ्नो समस्याबाट भागिन् । ‘म ट्रमा (मानसिक आघात) बाट बाहिर निस्कन चाहेँ,’ उनी भन्छिन्, ‘कतिपय मानिसहरूले सोधिरहन्थेँ, यसबाट भाग्न पनि सक्दिनथेँ ।’

यसबीचमा उनले आफूमाथि यौनहिंसा भएको भनेर संसदमा पनि बोलिन्, ‘मैले राजतन्त्रको विरुद्ध गणतन्त्रको लागि लडेको हुँ, गणतन्त्र आयो, मैले न्याय पाएँ । आम माफी भयो ।’ संसदमा यसरी बोल्नुको पछाडि अनेक कारण थिए ।

उनीमाथि यौन हिंसा गर्नेहरूले प्रत्यक्ष अप्रत्यक्षरूपमा धम्क्याइरहेका थिए । ‘यसले मलाई मानसिक तनाव बढ्यो र पुरानै अवस्थामा फर्किने जोखिम बढ्यो,’ संयोजक खड्का भन्छिन्, ‘जीवन–मरणको दोसाँधमा भए पनि द्वन्द्वमा म स्वतन्त्र थिएँ तर, द्वन्द्व सकिएपछि मेरो त्यो स्वतन्त्रता गुम्यो । स्वतन्त्रताको खोजीमा मैले त्यो कुरा संसदमा बोलेँ ।’

संसदमा बोलिरहँदा उनले कुनै दिन यो ‘केस’ उल्टाउँछु भनेर कल्पना गरेकी थिइनन् । ‘मैले संसदमा बोलिरहँदा एउटा आत्म संकल्प गरेकी थिएँ’ उनी भन्छिन्, ‘तर आज मैले आफैंले गरेको संकल्प उल्ट्याइरहेकी छु । किनकी एउटा नेता भएको हैसियतले यौन हिंसा पीडित आम महिलाहरूको न्याय मरिरहेको हेरेर बसिरहन सकिनँ ।’

यो १५ वर्षको बीचमा उनलाई पार्टीले सघायो, विभिन्न अवसर पाइन् । उनको जीवन सुधारियो तर अन्य साथीको जीवन जस्ताको तस्तै थियो । ‘म समस्याबाट भागेपनि साथीहरूले मलाई सम्झिरहे, मबाट अपेक्षा गरिरहे,’ उनी भन्छिन्, ‘यसबीचमा मैले धेरै आत्मसंघर्ष गरेँ । मेरोजस्तै घटना भोगेका साथीहरूको जीवन थप नारकीय बन्दै गयो । न उनीहरु बोल्न सके, न पार्टी बोल्यो, न राज्य नै । अनि म बोल्न बाध्य भएँ ।’