यो कस्तो बाध्यता : हतियार बोक्ने हातमा झाडु

सशस्त्र प्रहरी सधै हातमा हतियार वा लौरो बोकेर ड्युटी गरी रहेको अवस्थामा भेटिने गर्छन । सशस्त्र प्रहरीको अन्य बेला देखिने हाउभाउ बुधवार फरक थियो । उनीहरु हतियार र लौरोको साटो हातमा झाडु लिएर बाहिर निस्किएका थिए ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका १ सपहीमा रहेको सार्वजनिक स्थल राजदेवी मन्दिरको सरसफाई गर्न सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सपहीबाट सशस्त्र प्रहरी नायब निरिक्षक हरिकृष्ण घर्ती भुजेलको नेतृत्वमा ६ जनाको टोली हातमा झाडु लिएर निस्किएको थियो ।

स्थानीय बासिन्दाले मन्दिर वरीपरीको क्षेत्र फोहोर तथा उम्रेको झारपात सफाई गर्न चासो नदेखाएपछि सशस्त्र प्रहरीले सरसफाईमा चासो देखाएको हो । ‘सार्वजनिक स्थल संरक्षण र सरसफाई गर्ने हाम्रो पनि दायित्व हो,’ सप्रनानि भुजेलले भने, ‘हामी पनि यही समाजमा बस्छौँ, यही समाजको लागी खट्छौँ ।’

समाजका हरेक सामाजिक क्रियाकलापमा पनि सशस्त्र प्रहरी सहभागी हुदै आएको उनले बताए । सार्वजनिक स्थलको सरसफाईमा चासो देखाउन स्थानीय बासिन्दालाई अभिप्रेरित गर्ने अभिप्रायःले मन्दिरको सरसफाई गरिएको सप्रनानि भुजेलले बताए ।