यो नालायकहरुको सरकार हो – ओली

कपिलवस्तु — नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई नालायक भएको आरोप लगाएका छन् । ‘भारतलाई चार रुपैयाँमा बिजुली बेचेर ३८ रुपैयाँमा किन्ने यो सरकार नालायक नभए के हो त ?’ उनको प्रश्न छ ।

सदरमुकाम तौलिहवामा सोमबार अयोजित पार्टी प्रवेश तथा बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतलाई सस्तोमा बिजुली बेचेर महँगोमा किनी ९ रुपैयाँमा दिए पनि त्यो ऋण जनताकै टाउकोमा थोपरेको उनले आरोप लगाएका हुन् ।

‘कांग्रेस एक जमानामा ठूलो जुरो भएको बलियो साँढेजस्तो थियो,’ उनले भने, ‘अहिले एकापट्टि एउटाको र अर्कोपट्टि अर्कोको बैसाखी टेकेर हिँडिरहेको छ । कसैले बैसाखी नटेकौं न भने अगाडि हेरौं न एमाले कत्रो छ, बैसाखी नटेकेर हुन्छ भन्छ ।’ सबै मिलेर आए पनि एमालेसँग कोही लड्न नसक्ने उनको तर्क थियो ।

नेपालले अन्तरिक्ष र समुन्द्रमा आफ्नो अधिकार स्थापित गरेको बताउँदै नेता ओलीले नेपालले पाएको स्याटलाइट राख्ने ठाउँ अरुले नै लिइदिएको भए पनि आफूहरूले सो ठाउँ ओगटेर अन्तरिक्ष र समुन्द्रमा नेपालको अधिकार स्थापित गराएको दाबी गरेका छन् । आफूले मुलुकमा पानीजहाजको कुरा गर्दा कांग्रेसहरूले उडाएको भन्दै नारायणी र कर्णालीमा युवाहरूले मोटर बोट चलाएपछि अब समुन्द्रसँग जोडिन पानीजहाज चलाउन सकिने उनको तर्क थियो ।