वाम एकता किन र कसरी ? सूत्र सार्वजनिक गर्दै घनश्याम भुसाल

काठमाडौं। नेकपा एमाले नेता घनश्याम भुसालले वाम एकताको आवश्यकता र औचित्यबारे आफ्नो धारणा प्रष्ट पार्ने भएका छन्। पोलिट्ब्युरो बैठकमा वाम एकताका लागि नेतृत्वले पहल लिनुपर्ने धारणा राखेको भोलिपल्ट नेता भुसालले उक्त विषयमा आज पत्रकारहरूसँग अन्तर्क्रिया गर्दैछन्।

दिउँसो १२ बजे बबरमहलस्थित साफ फाल्चामा पत्रकारसँग हुने अन्तर्क्रियामा भुसालले एमाले, माओवादी केन्द्र र समाजवादी केन्द्रसहितको वाम एकताको आवश्यकता र औचित्यबारे प्रष्टाउने भएका हुन्। किन र के का लागि वाम एकता आवश्यक छ र कसरी एकता सम्भव छ भन्नेबारे भुसालले आफ्ना धारणा सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ। भुसाल सुरुदेखि नै वाम एकता कायम राख्नुपर्छ भन्ने मान्यता राखेका नेता हुन्।

सोमबार एमालेको पोलिट्ब्युरो बैठकमा पनि उनले वाम एकताका लागि पहल लिन अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। तर ओलीले तत्काल वाम एकता सम्भव नरहेको जवाफ दिएका थिए। वाम एकता तत्काल हुन नसक्ने तर चुनावी एकता भने हुनसक्ने जवाफ ओलीले दिएका थिए।