गाडी भाडा ११% ले बढ्ने ?

७ चैत, काठमाडौं । सरकारले फेरि सार्वजनिक सवारीको भाडादर बढाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । विभाग स्रोतका अनुसार यो प्रतिवेदन एक–दुई दिनमै विभागबाट मन्त्रालयमा पेश हुने र भाडा बढाउने निर्णय हुनेछ ।

संघ सरकारले भाडा बढाएमा प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउनुपर्नेछ । हालकै अवस्थामा सार्वजनिक सवारीमा करिब ११ देखि साढे ११ प्रतिशतसम्म भाडा बढ्न सक्ने देखिएको छ ।

मूल्यवृद्धि फिर्ताका लागि महासंघले पटक पटक ध्यानाकर्षण गराएपनि उपभोक्ता वर्गलाई पर्ने असरलाई समेत बेवास्ता गरी सोही क्रम जारी राख्दा समस्या भएको महासंघको निष्कर्ष छ ।

महासंघले विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाउँदै पहिलो पटक फागुन २५ र दोस्रो पटक ७ चैतको गतेभित्र मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएको थियो । तर, सरकार भाडा बढाउने प्रक्रिया अघि बढाउन सहमत भएकाले अब समस्या नहुने महासंघका महासचिव सिटौलाले बताए ।