काठमाडौंमा आमसभा गरेर शक्ति प्रदर्शन गर्दै राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी २५ गते राजधानीको खुल्लामञ्चमा आमसभा गर्ने भएको छ। देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको हो। पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।

आमसभालाई व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा पाँच सय ५५ सदस्यीय आयोजक समिति गठन गरेको छ। राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन्।

आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन्। निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ। गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढेको देखिन्छ।