‘हाम्रो पार्टी सर्वहारा वर्गको हो, खल्तीमा पनि पैसा लिएर हिँड्न सक्दैनौँ’: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् ।

शनिवार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् । उनले  नेपाली कांग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरुले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाए ।

सम्मानित नेता खनालले नेपाली काँग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाए । उनले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे । सम्मानित नेता खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिवद्धताको कुरा अघि सारेर व्यवहारिक रुपले अघि बढ्ने बताए ।

सम्मानित नेता खनालले भने, ‘अब चुनावमा विभिन्न खालका शक्तिहरु अहिले आउँदैछन् । एउटा काँग्रेस, काँग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरुको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही काँग्रेसहरुले, त्यो सबै धाक पैसाको हो । अरु केही को होइन । तर कतिपय कांग्रेस, खासगरी प्रधानमन्त्रीजी होइन, हामी एकतावद्ध भएर जानुपर्छ, गठबन्धन कायम राखेर जाुनपर्छ, भन्नुहुन्छ । कांग्रेसभित्र दुई धार प्रस्ट छ । नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ । अर्को इलेक्शनमा हामी पक्का जित्छौँ । हामीले जित्ने हिसावले जानुपर्छ । तर अरु बोरामा पैसा लिएर आउँछन्, केपी ओली पनि बोरामा पैसा लिएर जान्छन् । कांग्रेसका एकता नचाहने मान्छेहरुले बैठक गरे, उनीहरुले को मान्छेलाई हराउने भन्दा नम्बर एकमा झलनाथ खनाललाई भने । उनीहरुले त्यही ढंगले प्रयत्न गर्दछन् । एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो । केपी ओलीलाई ६ गते लाने रे । के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ ।’ उनले थपे, ‘त्यति मात्रै होइन उनीहरुले पनि बोरामा नै पैसा लाने हो । यहाँ त एउटै केसबाट १८ अर्ब खाएको कुरा छ । हामीले समातेर जेल हाल्न त सकेका छैनौँ । बिस्तारै होला । तर हाम्रो पार्टी भनेको सर्वहारा वर्गको हो । हामी बोरामा पैसा होइन, खल्तीमा पैसा लिएर पनि हिँड्न सक्दैनौँ । विचार, नीति, प्रतिवद्धताको कुरा अघि सारेर व्यवहारिक रुपले गर्न सक्ने कुरा हामी गर्नेछौँ ।’