मलाई गाली गर्न मात्र अरबौं खर्च भइरहेको छ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई गाली गर्न अरबौं खर्चिएको टिप्पणी गरेका छन् । आज सिन्धुलीमा माओवादी पार्टी कार्यालय भवन उदघाटन गर्दै उनले आफूमाथि गाली गलौजका लागि मात्र अरबौं खर्च भइरहेको आरोप लगाएका हुन् ।

‘प्रतिक्रियावादीले अनेक गीतबाट गाली गरेर हुन्छ कि पत्रिकाबाट । प्रचण्डलको विरोध नगरेको पत्रिका देख्नुहुन्छ आजभोलि ?,’ प्रचण्डले भने, ‘प्रचण्डको विरोध नगरी पत्रिका हुँदैनन् सोसल मिडिया हुँदैनन् टीभी हुँदैनन् । यति धेरै गालीगलौज बाहिर हजारौं, लाखौं करोर्डा अरबौं खर्च भएछन् ।’

आफूलाई विचलित बनाउन खोजिएको उनको टिप्पणी थियो । प्रचण्डले भने,‘त्यसपछि आत्तिएला कि प्रचण्ड भन्ने धेरै ठूल्ठूला षड्यन्त्र भएको छ ।’ उनले माओवादीविरुद्ध भएका षड्यन्त्रलाई असफल बनाउने बताए । सबै किसिमका षड्यन्त्रलाई असफल बनाएर माओवादीले परिवर्तन ल्याएको उनको भनाई थियो ।

माओवादीलाई बदनाम गर्ने, षड्यन्त्र गर्ने, चिथोर्ने, कोपर्ने ठूलै षड्यन्त्र भइरहेको छ । आफूलाई विचलित बनाउन यसो गरिएको भन्दै कदापि नआत्तिने र विचलित नहुने बताए ।

चुनावमा माओवादीले जित्नैपर्ने प्रचण्डको भनाई थियो । माओवादीले नै अहिलेको परिवर्तन ल्याएको दाबी गर्दै प्रचण्डले भने,‘जस्ले परिवर्तन ल्यायो उसले हार्नुपर्ने पनि चुनाव हुन्छ ?’ जनयुद्धमा जस्तो आफ्नो पार्टीमा कम्प्याक्ट संगठन नभएको बताए । तर, दुई महिनामै कायापलट ल्याउन सक्ने दाबी गरे । उनले भने, ‘जनयुद्धको जस्तो कम्प्याक्ट संगठन छैन । बस्नुस् भन्दा बस्नुुहुन्थ्यो । उठ्नुस् भन्दा उठनुहुन्थ्यो । बन्दुक राख्नुहोस् भन्दा राख्नुहुन्थ्यो । अहिले त्यस्तो कम्प्याक्ट संगठन छैन तर दुई महिनामा कायापलट गर्न सकिन्छ ।’

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र विरोधी भएको आरोप लगाए । उनले भने,‘गोरुगाडा चढेर अमेरिका पुग्न सकिदैन भन्दै गणतन्त्रको विरोध गर्ने अझै ज्युँदै छन् ।’ गणतन्त्र जोगाउन पनि आफ्नो पार्टीले जित्नुपर्ने तर्क गरे ।