ओलीलाई शर्माको जवाफ : पाउँथे भने मार्क्स र लेनिनले काँग्रेसलाई भोट हाल्थे

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई अनावश्यक कुरामा अलमलिने समय नहुने स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले देउवाले जथाभाबी प्रश्नको जवाफ नदिने बताएका हुन्।

‘ओलीका हलुका, उच्छृंखल प्रश्नको जवाफ दिने फुर्सद पार्टी सभापतिलाई छैन। आवश्यक परे हामीले दिने हो,’ शर्माले भने। एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यंग्य गरेका थिए। ओलीको सोही अभिव्यक्तिप्रति काँग्रेस महामन्त्री शर्मा आक्रामक भएका हुन्।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले होइन, यदि काल मार्क्स र लेनिनले नै भोट हाल्न पाउँथे भने बोलीको ठेगान नभएका कम्युनिस्टलाई भन्दा काँग्रेसलाई भोट हाल्थे,’ शर्माले भने।