एमाले नेता योगेश भट्टराईले किन गरे ‘विप्लव’को प्रशंसा ?

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ल्याएको चुनावमा सहभागी हुने प्रस्तावको प्रशंसा गरेका छन्। कपिलवस्तुको शिवगढीमा शुक्रबारदेखि जारी नेकपाको केन्द्रीय समिति बैठकमा पार्टीका महासचिव विप्लवले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव राखेका हुन्।

तर, उनको प्रस्तावमा केही नेताले असन्तुष्टि जनाएका छन्। त्यस विषयमा आज अन्य नेताले धारणा राख्ने कार्यक्रम छ। यसैबीच एमाले सचिव भट्टराईले भने विप्लवको प्रस्ताव वस्तुवादी र सही भएको प्रतिक्रिया दिएका हुन्। निर्वाचनमा सहभागी हुने विप्लवको प्रस्ताव नेपाली धर्तीको मार्क्सवादी विचार भएको भन्दै भट्टराईले तारिफ गरेका छन्।

एमाले सचिव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमरेड नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने प्रस्ताव गर्नुभएछ। यो अत्यन्तै वस्तुवादी र सही प्रस्ताव हो। नेपाली धर्तीको मार्क्सवादी विचार पनि हो।’ बुर्जुवाहरूसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र वैधानिक तरिकाबाट मात्र समाजको प्रगतिशील रूपान्तरण सम्भव हुने उनको धारणा छ।

एमालेले चालिसको दशकबाट अवलम्बन गरेको प्रतिस्पर्धाको बाटोमा सबै कम्युनिष्ट आउनु पर्ने उनले बताए। समाजवादसम्म पुग्ने यही मात्र एक बाटो भएको उनको भनाइ छ। यही प्रक्रियाबाट नै कम्युनिस्ट आन्दोलन एकीकृत र ध्रुवीकृत हुने भट्टराईको दाबी छ।

  1. ‘करिब चालिसको दशकबाट आन्दोलनका वस्तुवादी स्वरूप अवलम्बन गर्दै जनताको बहुदलीय जनवाद हुँदै आजको नेकपा एमाले निर्माण भएको हो,’ उनले लेखेका छन्, ‘बुर्जुवाहरूसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र वैधानिक तरिकाबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण नै आजको मुख्य कार्यदिशा हो। अन्ततः सबै कम्युनिस्टहरूको बाटो यही हो र यही बाटोबाट समाजवादसम्म पुग्ने हो। यही प्रक्रियाबाट नै कम्युनिस्ट आन्दोलन एकीकृत र ध्रुवीकृत हुनेछ। नेपाली जनताको अपेक्षा पनि यही हो।’