पैसा कहाँ हरायो भनेर खोज्दै छु : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको संकेत गरेका छन्। शुक्रबार नागरिक लगानी कोषको ३२औँ वार्षिकोत्सवमा उनले पछिल्लो समय पैसा लुकाएर राख्ने प्रवृत्ति झन् बढेको भन्दै त्यस्तो पैसा खोज्न थालेको बताए।

तरलताको अभाव सिर्जना गराउन ओछ्यानमुनि वा सिरानीमुनि पैसा राख्ने प्रवृत्ति बढेको अर्थमन्त्री शर्माको जिकिर छ। ‘पुँजी कतै हराइरहेको छ, आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा लागेको छु,’ उनले भने, ‘हाम्रो पुँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन ? यतातिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ।’

अर्थमन्त्री शर्माले क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फन्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पुँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए। उनले भने, ‘नयाँ विकास भएका विभिन्न प्रविधिहरूको दुरुपयोग गरेर पुँजी पलायन हुने प्रक्रिया देखा परेको छ। त्यसलाई नियन्त्रण गर्न विभिन्न संयन्त्र परिचालन भइसकेका छन्।’

पछिल्लो समय देशले तरलता अभावको समस्या खेप्नेक्रम लम्बिएपछि अर्थ मन्त्रालय पुँजी जुटाउन निरन्तर क्रियाशील भइरहेको उनले बताए। देशले अहिले भोगिरहेको शोधनान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको उनको भनाइ थियो।