प्रचण्ड किन जाँदैछन् सिन्धुली ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाने भएका छन्। माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्न अध्यक्ष प्रचण्ड सिन्धुली जान लागेका हुन्।

अध्यक्ष प्रचण्डले एक विद्यालयको भवनको समेत उद्घाटन गर्ने कार्यक्रम छ। प्रचण्डसँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सिन्धुली जाने कार्यक्रम छ।

भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली आई पुग्ने नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए। भवन उद्घाटनपछि अध्यक्ष प्रचण्डले आजै सिन्धुलीका उद्योगी व्यापारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

सिन्धुलीका कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड शनिबार काठमाडौं फर्कने छन्। स्थानीय तहको निर्वाचन नजिकिँदै गएका बेला अध्यक्ष प्रचण्डले देश दौडाहा तीव्र बनाएका छन्।