‘मेरो साहित्य यात्रा निकै जटिल अवस्थामा छ’- नगेन्द्र न्यौपाने

१. नमस्कार सर ! सञ्चै आरमै हुनुहुन्छ ? अहिले के गर्दै दिन बिताउँदै हुनुहुन्छ ?
– नमस्कार ! आरामै छु । आजकल म नयाँ उपन्यासको तयारीमा छु ।  त्यस्तै दैनिक गुजराको लागि सानोतिनो काममा पनि लागेको छु ।

२. अहिलेसम्म तपाइँले कति वटा कृति प्रकाशित गरिसक्नु भयो ?
– लगभग आधा दर्जनभन्दा बढी कृतिहरु लेखेको छु । हराएको कैदी(कविता संग्रह), यात्राको बंगलादेश(यात्रा संस्मरण), अन्तिम घुड्को(कथा संग्रह), An Odyssey in Cyclone(Travelodge), उल्टो रीस(उपन्यास), दरबार बाहिरकी महारानी(उपन्यास), कङ्गो र इथियोपियाको सेरोफेरो(नियात्रा) हरु छन् नाम नै लिनुपर्दा चाहिँ ।

३. ‘दरबारबाहिरकी महारानी’ उपन्यास तपाइँ निकै चर्चित उपन्यास हो । यो उपन्यासको पात्रको छनौट कसरी गर्नु भयो । र, यो उपन्यास लेख्ने हौसला कहाँबाट प्राप्त गर्नुभयो ?
– सत्य घटनामा आधारित भएकोले पात्रको छनौट मैले गरेको होइन । उपन्यास आफैंले गरेको हो । यस उपन्यास मुख्य गीता महारानी र उनकी सहयात्री लक्ष्मी दिदीबाट लेख्ने हौसला पाएको हो ।

४. तपाइँमा  साहित्य तर्फ  मोह  कसरी बढ्यो ? साहित्य लेखन कति बर्षको उमेर देखि सुरु गर्नुभयो ?
– बुवा घरको पिंढीमा बसेर खुब लेख्नु हुन्थ्यो उहाँले नै गर्दा म मा लेख्ने मोह बढ्यो । र, यसैले मलाई साहित्य तर्फ मोह बढायो । सानै उमेरमा हाइस्कुलमा पढ्दा देखि नै म साहित्यकार थिए । तर कविता प्रकाशित गर्ने मौका २०३८ सालमा त्रि-चन्द्र कलेजमा पढ्दा पाए ।

५. तपाइँ साहित्य लेखन सुरुमा लेख्दा के मा लेख्नु हुन्छ कापीमा लेख्नु हुन्छ कि कुनै मोबाइल या ल्यापटपमा लेख्नु हुन्छ ?
– मेरो साहित्य लेखन कापीमा नै हुन्छ । म विशेष गरी डट्पेन प्रयोग गर्ने गर्छु । ल्यापटप वा मोबाइलमा लेख्ने बानी छैन । म मोबाइलमा पढ्दा पनि पढ्दिन । ल्यापटप वा डेस्कटपमा नै पढ्छु । विशेष गरी उपन्यास वा अन्य वस्तुहरु हातमा राखेर किताबमा नै पढ्ने गर्छु ।

६. साहित्य लेखन एउटा जटिल कार्य भन्छन् नि ? कल्पना गर, त्यसलाई लेख, शब्द मिलाउ, पुनलेखन गर । के यो कार्य तपाइँलाई झन्झटिलो लाग्दैन ?
– तपाइँले ठिकै भन्नुभयो यो अति जटिल कार्य हो । समय लिने काम हो । तर लागेको बानी भनौं वा आदत झन्झटिलो लागेर के गर्नु ? म लेख्न छोड्दिन । अर्को कुरा लेखर मात्र पनि भएन । स्तरीत हुनु पर्‍यो ।

७. तपाइँले अहिलेसम्म साहित्य लेखन कति घण्टासम्म नन-स्टप लेख्नु भएको छ ? कुनै विशेष क्षण या कुनै विशेष साहित्य कृतिको भाग याद छ ?
– लगातार दुई घण्टा भन्दा बढी लेख्न सक्दीन । हरेक घण्टापछी सामन्य विश्राम लिनुपर्छ । खासै त्यस्तो याद छैन । म लेख्दै जान्छु तर त्यस्तो विशेष याद भने छैन ।

८. तपाइँलाई के लाग्छ, साहित्य लेखनले जीविकोपार्जन गर्न सकिन्छ या सकिन्न ?
– साहित्य लेखनबाट जीविकोपार्जन गर्न सकिन्छ भनेर म भन्न सक्दीन तर अलिकति पृथक ढङ्गबाट लेखीयो र समाजले वा पाठकवर्गको मन जित्न सक्यो भने आम्दानी राम्रो हुन्छ ।

९. तपाइँलाई विशेष कस्ता कथाहरु लेख्न मनपर्छ ?
– मलाई बाल मनोविज्ञान तथा आर्थिक अवस्था कमजोर भएका कथावस्तु मनपर्छ । त्यस्तै समाजमा विपन्न वर्गको प्रतिबिम्ब भएका कथाहरु पनि मनपर्छ ।

१०. अन्त्यमा यो भन्दिनुस् साहित्यको यात्रा तपाइँको कस्तो रह्यो ? अब आउँने दिनहरु नेपाली साहित्य क्षेत्रको लागि के कस्ता योजना छन् ? के कस्ता कृतिहरु प्रकाशन गर्ने सोचमा हुनुहुन्छ ?
– मेरो साहित्य यात्रा निकै जटिल अवस्थामा छ । म कथावस्तु समात्न खोज्छु तर समात्न सकेको छैन । अर्को कुरा मलाई जस्तो पाए त्यस्तै विषयमा हात हाल्न मन लाग्दैन । ‘खण्डहर दरवार’ नामको ऐतिहासिक उपन्यासको तयारीमा छु । अब एक वर्ष भित्र बजारमा आउँछ । त्यस्तै अमेरिकाको यात्रा सम्बन्धी नियात्रा पनि लेख्दै छु । त्यो पनि तयारी अवस्थामा छु ।