ट्राफिक प्रहरीद्धारा चोरीका २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १६ मोटरसाइकल र पाँच स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उपत्यकाको एकान्त ठाउँमा सवारीसाधन पार्किङ गर्दा बढी हराउने गरेको बताउनुभयो । “सवारी साधनमा डिक्स लक, ह्वील लक, सेक्युरिटी साइरनको प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

लाखौँ रुपैयाँ तिरेर किनेको सवारी साधनको सुरक्षामा पनि त्यत्तिकै जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । महाशाखाका अनुसार चालकको लापरबाही, सुनसान क्षेत्रमा पार्किङ, सवारी साधनमा ह्वील लक नगर्नाले धेरै सवारी साधन चोरी हुने गरेका छन् ।

महाशाखाले दुई महिनाको अवधिमा ८८ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । महाशाखाले आफ्नो सवारी साधन हराउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा लग इन गरेर अनलाइनमार्फत समेत निवेदन दिन सबैलाई आग्रहसमेत गरेको छ ।