प्रकाश सपुतको सिर्जनात्मक ढंगले गीत बनाउने कलालाई प्रशंसा गर्छु : प्रचण्ड

काठमाडौं ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गायक प्रकाश सपुतको गीत पीरलाई लिएर विरोध गर्नु पर्ने नभएको बताएका छन् ।

माओवादीको धेरै आयामहरु भएकाले एउटै मात्र विषयमा माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरिनु गलत हुने बताएका उनले गायक सपुतको सिर्जनात्मक ढंगले गीत बनाउने कलालाई प्रशंसासमेत गरेका छन् ।

कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले भने, ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु छन् । ‘

मानिसहरुले आफ्नो अनुभव,अनुभूति अनुसार आफ्नो गीत कविता नाटक बनाउने भएकाले माओवादीको एउटा पाटोलाई चर्चा गरियो भने त्यसमा डिबेट गरी आवेगमा आउन नहुने बताएका छन् ।

‘त्यसको त्यति धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन, माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ ।’