थुक्क मेरो बुद्धि !

विराटनगर :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइरालाई राष्ट्रपति नबनाएर र रुक्मांगद कटवाललाई चलाएर गल्ती गरेको भन्दै पश्चात्ताप गरेका छन्।

प्रचण्डले पार्टीको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा आइतबार यस्तो स्विकार गरेका हुन्। कार्यक्रमका वेला नेपाली कांग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालालाई उनले स्मरण गरे। उनले भने, ‘त्यो बूढो मान्छेलाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो होला? ३ महिनामा जाँदै गरेको रुक्मांगद कटवाललाई किन हटाएको होला ? थुक्क मेरो बुद्धि!’

उनले कटुवाललाई प्रधानसेनापतिबाट हटाउन तत्कालीन माओवादी नेताहरु डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको पनि बताए। तीन महिनामा कार्यकाल सकेर घर जान लागेका कटुवाललाई चलाउँदा माओवादीले सरकारको नेतृत्वसहित धेरै विषय गुमाएको पनि उनले स्मरण गरेका छन्। ‘उहाँहरूका पछाडि लाग्दा त्यसवेला राष्ट्रपति हारियो, सरकार गुम्यो।’

‘दायाँ र बायाँ बस्नेहरु ठोक भन्छन्। म अलिक उदार मान्छे। दायाँ बाबुराम, बायाँ बादल छन्’, उनले भने, ‘बढो क्रान्तिकारी भएर तीन महिनापछि घर जान लागेका रुक्माङ्गदलाई हटाउँदा सरकार र राष्ट्रपति सबै गयो।’

त्यतिबेला प्रचण्ड प्रधानमन्त्री थिए भने बाबुराम अर्थ र बादल रक्षामन्त्री थिए।

हाल पनि त्यस्तो हुने सम्भावना देखेरै १२ बुँदे व्याख्यात्मक टिप्पणी गर्दै एमसिसी पारित गरेको उनले चर्चा गरे। उनले कार्यकर्तालाई एकजुट हुन पनि आह्वान गरे।