‘रत्नपार्कको त्यो केटो’-सन्तोष देवकोटा

-सन्तोष देवकोटा
भरतपुर-१९, चितवन !!
प्रायः रत्नपार्क आउने जाने मेरो निम्ति दैनिकी जस्तै भएको थियो । त्यहाँको कोलाहलसँग मेरो राम्रैसँग पहिचान भैसकेको थियो । रत्नपार्कको हर कुनाकुनासँग मेरो आत्मीय साटिसकेको थियो । त्यो दिन सुर्यदर्शन हाइटतिर जाने बसको पर्खाइमा थिएँ । एउटा लामो लाइन लागिसकेको थियो । मिनि माइक्रो जल्थ्यो त्यहाँबाट । त्यो मिनि माइक्रो यति प्याक हुन्थ्यो कि के भनौं ?
काठमाडौं जस्तो ठाउँमा आफ्नो साधन नभए धेरै दु:ख त पाइन्छ पाइन्छ त्यो भन्दा धेरै बस कुर्दा समयको बर्बाद हुन्छ । त्यसको भोगाइ मलाई राम्रैसँग थाहा छ ।
एउटा माइक्रो बस आयो । त्यो बसमा कोचाकोच गरेर प्यासेन्जर लिएर गयो । गुन्द्रुक खादे झैं प्यासेन्जरलाई खादेको थियो । तर पनि सबैलाई आआफ्नो गन्तव्यमा पुग्नु थियो । जसोतसो भएपनि जानै पर्थ्यो । मसम्म आउँदा त माइक्रोमा खुट्टाको औंला राख्न समेट ठाउँ थिएन ।
मेरो त्यो माइक्रोमा पालो आएन । आर्को माइक्रो कुर्नु पर्ने भयो । दस-पन्ध्र मिनेट पछि आउन्थ्यो । त्यही बेला एउटा केटो देखे । त्यो केटोसँग मेरो परिचय केही दिन अगाडीबाट नै भैसकेको थियो ।
अनुहारमा मीठो मुस्कान । हातहरुमा कँट्न क्यान्टी । मान्छे कालोकालो, दात अनुहार भन्दा निकै सेतो, मान्छे हेर्दा निकै चलाख थियो । पुस-माघको जाडोमा होस् या चैत-वैशाखको हुरीमा होस् ऊ त्यतै रत्नपार्कतिर रुमलिएको हुन्थ्यो ।
उसको घर नै रत्नपार्क । उसको कर्मथलो नै रत्नपार्क । उसको खेलमैदान नै रत्नपार्क । ऊ हरपल रत्नपार्कमा हुन्थ्यो । ऊ रत्न्पार्कको कोलाहलसँग यसरी परिचीत भैसकेको थियो कि मानौं ऊ त्यहाँको राजा नै थियो ।
थाहा छैन कहाँ सुत्छ ? के खान्छ ? उसको आफन्तहरु को को छन् ? तर पनि ऊ मीठो मुस्कानसँग कँट्न क्यान्डी बेच्थ्यो । उसको नियमित ग्राहक म हुन्थे । एउटा उसको हुलिया देख्दा दयामाया जागेर आउन्थ्यो । साधरण मैलो सर्ट र कालो कटुमा हुन्थ्यो । त्यो लुगा बाहेक मैले उसले कहिले अरु लुगा लगाएको देखिन । अरु लुगा मात्रै होइन त्यही लुगा पनि कहिले सफा लगाएको देखिन । ओठमा जति मीठो मुस्कान हुन्थ्यो उसको लुगा त्यतिनै फोहोर हुन्थ्यो । थाहा छैन ऊ कुन समुदायबाट आएको थियो । तर पनि सबैसँग दाइदिदी नाता लगाउँदै हिँड्न्थ्यो ।
कुनै स्त्रीको मुस्कान भन्दा उसको मुस्कानमा एकप्रकारको लत थियो । त्यो लतले उसको कँट्न क्यान्टी धेरै बिक्री हुन्थ्यो । उमेर बाह्र-तेह्र बर्षको भन्दा बढी थिएन । पढ्ने, लेख्ने, खेल्ने र रमाउने उमेरमा ऊ त्यसरी हिँड्दै थियो । उसको बाध्यता के थियो त्यो मलाई थाहा थिएन । तर पनि उसको काम गराइ र हुलियाले देख्दा कुनै विपन्न परिवारको हो भनेर संकेत गर्दै थियो । अर्को कुरा के भनें उसको परिवार नै थियो कि थिएन त्यो थाहा थिएन ।
हिसाबकिताबमा एकदम माहिर थियो । हातका औंलाबाट नै कति पैसा फिर्ता दिने ठ्याक्कै भन्थ्यो । लाग्थ्यो गरिबीको लेखा मुनि बसेका व्यक्तिहरुमा कला, सीप, जागर र दिमाग हुन्छ तर पैसाको अभावले त्यो अवसर पाउँन सक्दैनन् जुन अवसर धनिहरुले सजिलै पाउँछन् ।
आँखा चम्किलो थियो । त्यो आँखाभित्र कति सपनाहरु थियो थाहा थिएन । काधमा कति जिम्मेवारी लुकेको थियो त्यो मैले ठमाउन सकिन । शरीरमा फुर्तिहरु थियो । कपालमा जहिले तेल हालेर चिल्लो बनाएको हुन्थ्यो । लुगा जस्तो भएपनि कपाल चाहिँ निकै राम्रो थियो । सर्लक्क मिलेको । सलमान खानले तेरे नाम फिल्ममा बनाएको स्टाइलमा कोरेको झैँ कोरिएको हुन्थ्यो । कपाल कोर्नु उसको लागि सबै भन्दा महत्त्वपूर्ण काम थियो जस्तो देखिन्थ्यो ।
एकपटक सोच्छु ‘यति त्यो केटोलाई कुनै धनि मान्छेले साथ दिए कहाँ पुग्थ्यो होला है ?’, ‘कुकुर पालेर दिनदिनै त्यो कुकुरको स्याहारसुसार गर्नु भन्दा त्यो केटोलाई त्यतिनै स्याहारसुसार गरेको भए धर्म पनि हुन्थ्यो होला हैं ?’ मनमा छुट्टै प्रकारलो तरङ्गहरु पैदा भए । अनि फेरि सोच्छु ‘मोटरसाइकलको कान निमोठ्दै हिँड्ने यो युगमा, कौसीका तरकारी लगाएर सम्पन्न देखाउने यो युगमा, कुकुरलाई स्याहारसुसार गरेर धनी देखिने यो युगमा । धनीहरुले गरिब र गरिबी देख्नु भनेको त चन्द्रमा बाट नेपाल देख्नु जस्तो त हो नि हैँ ? धेरै कमाएर । धेरै पैसा जम्मा गरेर । आखिर मोर्ने बेला खाली हात जानुपर्छ । ती खाली हात जानू भन्दा बरु ती हातहरुले केही सेवा र धर्म गरे केही पुण्य त मिल्छ । तर यो जमानामा पैसाको निम्ति आफ्नोले आफ्नै भन्दैनन् कताबाट दानधर्मतिर मन जान्छ त ?’
त्यो केटो मेरो नजिक आयो । म उसलाई पच्चीस रुपैयाँ देखाउँदै कटन क्यान्डी मागे । एउटा मीठो मुस्कान मिसाउँदै मलाई दियो । मैले पैसा दिए ।
त्यही मुस्कान र कँट्न क्यान्डीमा हाम्रो परिचय भएको थियो । उसलाई मेरो नाम थाहा छैन र मलाई पनि उसको नाम थाहा छैन तर पनि हामी बिचको केही दूरीहरु कम भएका थिएँ । उसले मलाई भेटेपछी अनुहारमा एउटा खुसीको तुसारो निकाल्दै मतिर पाइला लम्काउन्थ्यो । म पनि उसलाई देखेपछि उसलाई बोलान्थे ।
माइक्रो आयो । भिडभाड निकै थियो । म माइक्रो भित्र पसे । त्यो रत्नपार्कको केटो मेरो नजरबाट अदृश्य भयो ।
आज उसको बारेमा लेख्दै गर्दा यो लकडाउनमा के गर्दै छ होला ? खाना खान पायो कि पाएको छैन होला ? यस्तै कुराहरुले कुत्कुताउँदै छ । रत्नपार्कतिर कँट्न क्यान्टी बेच्दै जीविका चलाएको त्यो केटो आजकल के गर्दै छ होला ? मन जिज्ञासाको दलदलमा फसेको छ । अब ऊ यो लकडाउन पछि आउँछ कि आउँदैन होला ??