डान्स गरेर नै निर्देशक हुन सफल सविन कार्कीको संघर्षको कथा यस्तो छ ? (भिडिओ सहित)

नेपाली गीतसंगीतमा रूची हुने युवा पुस्ताले सुनेको नाम हो- सविन कार्की। कतिले उनलाई बीस्ट भनेर चिन्छन्। उनले आफ्नो नामै सविन कार्की ‘बीस्ट’ राखेका छन्।

युट्युबमा त्यही नाममा उनको च्यानल छ। जसमा साढे ६ लाख बढी सब्सक्राइबर छन्।

केही वर्षअघिसम्म सविन डान्सर मात्र थिए, गीतका म्युजिक भिडिओमा नाच्थे। कार्टुन क्रुजमा आवद्ध थिए। त्यतिबेला ‘फन्टास्टिक’,‘निर जहिल्यै रिसाउने…’ जस्ता गीतमा उनी नाचेको धेरैले मन पराएका थिए। युट्युबमा ती भिडिओहरू लाखौंले हेरेका छन्।

२७ वर्ष पुगेका सविनलाई अहिले संगीतका हरेक विधामा आफूले काम गर्न सक्छु भन्ने आत्मविश्वास छ।

‘मलाई जुनसुकै काममा आफ्नो सय प्रतिशत दिनुपर्छ भन्ने लाग्छ। आफूले काम गरेको क्षेत्रमा केही योगदान पुर्‍याउन चाहन्छु’, उनले सेतोपाटीसँग भने, ‘यहाँ दुई किसिमका कलाकार छन्: एक टिक्ने, बिक्ने र बस्ने अनि अर्को यो क्षेत्रलाई नै अगाडि बढाउन प्रयत्न गर्ने। मलाई यो क्षेत्रमा केही योगदान पुर्‍याएर अघि बढ्न मन छ।’

गुल्मीमा जन्मेका सविनलाई नाचगानमा सानैदेखि रूची थियो। उनको घरको माहौल पनि सांगितिक थियो।

‘मेरो आमा नेपाली कलाकार संघमा हुनुहुन्थ्यो,’ सविनले भने, ‘आमालाई फिल्मको प्रिमियरको टिकट आउँथ्यो। म पनि जान्थें। त्यहीबेला हरिवंश आचार्यजस्ता धेरै  कलाकारलाई नजिकैबाट देख्न पाएको थिएँ। सायद त्यहीँबाट प्रेरित भएँ होला।’

उनले पहिलो पटक कक्षा आठमा पढ्दा नाचेका थिए। विद्यालयबाट देउसी भैलो खेल्न जाँदा उनी नाचेको सबैले मन

पराए। सबैले ‘गज्जब राम्रो नाच्यौ’ भनेपछि आफूलाई पनि नाच्न सक्छु जस्तो लागेको उनी बताउँछन्।

उनका साथीहरू सबैले आफ्नो स्टेज नाम राखेका थिए। लहलहैमा सविनले पनि नामको पछाडि बीस्ट थपे। जसका उनले दुई  अर्थ लगएका छन्, एउटा सबैभन्दा राम्रो र अर्को सैतान।

बाल्यकालमा उनी बदमास थिए रे!

‘कक्षामा अरूलाई दुःख दिने, दादागिरी देखाउने एक-दुई जना हुन्छन् नि! म त्यसैमा पर्थें। त्यसो गर्न नहुने रहेछ भन्ने अहिले आएर बुझें,’ सविनले भने,‘कक्षामा जोक

सुनाउँथें। साथीहरू गलल हाँस्थे। सबैले हौसला दिएपछि आत्मविश्वास बढ्दै गयो।’

त्यतिबेला नाचेर र कमेडी गरेरै जिन्दगी चल्छ भन्नेचाहिँ कसैलाई लाग्दैनथ्यो। आफूलाई कतिले नाचेर के हुन्छ भन्दै जिस्काएको सविन अहिले पनि सम्झन्छन्।

अरूले जिस्काए पनि सविनले हिम्मत हारेनन्, नाच्न छोडेनन्। उनी कार्टुन क्रुजमा आवद्ध भए ।