दमौलीमा आगलागीको घटनाप्रति श्रममन्त्री श्रेष्ठद्वारा दुःख व्यक्त

दमौली, २२ फागुन-तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान आगलागीको घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गर्नुभएको छ । आगलागी भएको केही समयपछि आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरबाट दमौली आइपुग्नुभएका मन्त्री श्रेष्ठले पीडितलाई भेटी दुःख व्यक्त गर्नुभएको हो । मन्त्री श्रेष्ठले पीडित परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । “अब बस्ने मन्त्रिपरिषद् बैठकमा आगलागी पीडितलाई क्षतिपूर्ति प्रदान गर्नका लागि पहल गर्छु”, श्रेष्ठले भन्नुभयो ।

जनतालाई परेको पीरमर्कामा अहिलेको गठबन्धनको सरकार क्रियाशील भएर काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले भन्नुभयो, “सरकार जनताको अभिभावक हो, जनतालाई परेको पीरमर्कामा सरकार सधैंँ जनताको साथमा छ ।” (रासस)