महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणा र रुद्राक्षको माला लगाएर बिदाइ गरियो

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउनुभएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउनुभएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् । संस्थानले बिहीबार र आजसमेत साधुसन्तलाई बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले राससलाई जानकारी दिनुभयो । गोरखनाथ अखडाका साधुसन्तलाई भने बिदाइ गर्न बाँकी रहेको संस्थानले जनाएको छ ।

बिदाइका अवसरमा फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गर्नुभएको सामग्रीसहित दक्षिणा पनि दिइएको उहाँले बताउनुभयो । संस्थानले रु ९०० देखि रु आठ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । नागाबाबालाई रु आठ हजार र अन्यलाई रु ९०० भन्दामाथि दक्षिणा दिइएको संस्थानका प्रवक्ता जनक पोखरेलले बताउनुभयो ।

यसैगरी कोषले पनि रु १०५ देखि रु पाँच हजार १०० सम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । धेरै साधुसन्तलाई बिहीबार नै बिदाइ गरिएकामा केही छुटपुट साधुसन्तलाई भने आज बिदाइ गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । कोषले अहिलेसम्म करिब तीन हजार ५०० जना साधुसन्तलाई बिदाइ गरेको जनाएको छ ।