धतुरो खुवाएर एमाले प्रवेश गराइएका वाइसिएल नेता माओवादीमै फर्किए

काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का एक स्थानीय नेताले आफूलाई हिजो भाङ खुवाएर एमाले प्रवेश गराइएको आरोप लगाएका छन् । माओवादी केन्द्रको युवा संगठन वाइसिएल दोलखाका नेता भीमसेन आचार्यले शिवरात्रिको दिन शिवजीको प्रसाद भनेर गाँजा, भाङ र धतुरो खुवाई जबर्जस्ती एमालेमा प्रवेश गराइएको आरोप लगाएका हुन् ।

वाइसिएलको कालिञ्चोक गाउँपालिका ७ नम्बर वडा कमिटीका अध्यक्ष आचार्यले आज दाँयाबाँया ल्याप्चे लगाएको हस्तलिखित वक्तव्य सार्वजनिक गर्दै एमाले नेताहरुले आफ्नो बेहोसीपनको गलत प्रयोग र प्रचार गरेको दाबी गरेका छन् । त्यस्तै, आफूले माओवादी केन्द्र नछाडेको पनि उनले प्रष्ट पारेका छन् ।

उनको वक्तव्यमा महाशिवरात्रिको दिन गाँजा भाङ, धतुरो खुवाई एमालेको दोलखा–काठमाडौं सम्पर्क मञ्चको सपथ ग्रहण कार्यक्रममा बेहोसीमा माला लगाई प्रवेश गराएको उल्लेख गरिएको छ । उनले भनेका छन्, ‘एमालेमा प्रवेश गरेको भन्ने कुरा झूटा हो । तसर्थ म आफ्नो गौरवशाली पार्टी माओवादी केन्द्रमै रहेको र रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले आफ्नो बेहोसीपन र सोझोपनलाई गलत प्रयोग नगर्न एमालेलाई चेतावनी पनि दिएका छन् ।