नारायण काजीको बाटो अब कता तिर हुन्छ ?

काठमाडौं, १८ फागुन । यतिबेला नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गम्भीर छन् । माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमा १६ फागुनमा पत्रकार सम्मेलन गरी श्रेष्ठलाई आफ्नो बाटोमा जानसक्ने भनेपछि उनी गम्भीर बनेका हुन् ।

यसै पनि माओवादीभित्र पूर्व एकता केन्द्रबाट आएका नेताहरुलाई जनयुद्ध नलडेको भनी फरक व्यवहार गरिने चर्चा चल्ने गरेको छ । मुख्य पदमा उनीहरुलाई स्वीकार्न कठिन मानिने गरिएको छ ।

माओवादी जनयुद्ध हुँदा तत्कालीन एकता केन्द्रका नेताहरुले बाहिरी मोर्चाबाट महत्वपूर्ण भूमिका निभाउने गरेका थिए । तर, जनयुद्ध नलडेको भनी उनीहरुलाई शान्ति प्रक्रियापछिको एकता पछि फरक व्यवहार गरियो । त्यो भोगाई नारायणकाजी श्रेष्ठले गरेपछि उनी फरक तरिकाले प्रस्तुत हुने सोचमा पुगेको बुझिएको छ ।

श्रेष्ठले आफू पक्षीय पूर्व एकता केन्द्रका नेताहरुसँग बसेर गम्भीर छलफल समेत गरेका छन् । एमसीसी अनुमोदनमा माओवादीका पूर्व एकता केन्द्रका नेताहरु खुलेरै विरोधमा उत्रिए । त्यसप्रति प्रचण्ड आक्रोशित भए । उनले आफ्नै बाटोमा जान सक्ने बताए । प्रचण्डका विश्वासपात्र शक्ति बस्नेतले पनि त्यस्तै भने ।

असन्तुष्ट भएका श्रेष्ठले एमसीसी विरोधी दल र नेताहरुसँग परामर्श थालेका छन् । उनले १८ फागुनको विहानै विप्लवसँग कुराकानी गरे । भेटमा एमसीसीको विरोधमा अभियान चलाउनेबारे छलफल भएको खुलाइसकेका छन् ।

प्रचण्डले १७ फागुनमा हात्तिवन पुगेर श्रेष्ठलाई भेटे । उनले असन्तुष्ट श्रेष्ठलाई मनाउन खोजे । तर, उनी निकै चिन्तित भएको र फरक बाटोमा लाग्नुपर्ने विकल्पबारे पनि सोच्न थालेको बुझिएको छ ।  यो पनि :-

काठमाडौं, १८ फागुन । पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा ‘अमेरिकी शिविरको हो ?’ भनी प्रश्न गरेका छन् । देउवाले युक्रेन मामलामा हतारमा बोलेको र अमेरिकाले आयोजना गरेको समिटमा देशलाई नै सहभागी गराएको टिप्पणी गर्दै प्रश्न गरेका हुन् ।

‘नेपाल के अमेरिकी शिविरमा ढल्किएको हो ?’ विराटनगरमा आयोजित कार्यक्रममा खनालले देउवालाई प्रश्न गरे,‘उहाँ अमेरिकी शिविरको मान्छे हो ?’ देउवाले यसको जवाफ दिनुपर्ने बताए ।

नेपालले असंलग्न परराष्ट्र नीति लिएकाले रुस र युक्रेनबीचको युद्धमा हतारमा बोल्न नहुने बताए । छिमेकी मुलुक भारत र चीनले समेत तटस्थ भूमिका देखाइरहेको अवस्थामा नेपालले अमेरिकी शिविरमा रहेको जसरी कुनै एक पक्षमा बोल्नुलाई गम्भीरताका साथ लिएको बताए ।

विश्व राजनीति बदलिएकाले नेपालले सन्तुलित रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले छिमेकीलाई चिढ्याउने गतिविधि घातक हुनसक्ने समेत बताए ।