अध्यक्ष ओली र सभामुखबिचको विवाद उत्कर्षमा : सभामुखमाथि लगाइएको आरोप पुष्टि गर्न ओलीलाई चुनौती

काठमाडौं १८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख अग्नि प्रसाद सापकोटा बिचको विवादले उत्कर्ष लिएको छ ।

माधव नेपाल सहित १४ जना सांसदलाई आफ्नो पार्टीले गरेको कारवाहीको सुचना नटाँसेको भन्दै सभामुखकै राजीनमा माग गर्दै आएको एमालेले एमसीसीको विषयमा समेत सभामुखको अभिव्यक्तिलाई लिएर आपत्ती जनाएको छ ।

मंगलबार संसदबाट अनुमोदन भएको एमसीसीको विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्दैै अध्यक्ष ओलीले सभामुखले पदीय मर्यादा विपरीत कार्य गरिरहेको भन्दै एमसीसी टेबल गर्नुपरे सभामुखले आत्महत्या गर्छु भनेको विषयलाई लिएर आपत्तिजनक भएको बताएका थिए ।

अध्यक्ष ओलीले एमाले लेटरहेडमा आफुले हस्ताक्षर गरेको पत्रमा सभामुख विरुद्ध लेखेका छन् ,’संसद्‌मा माननीय सदस्यहरूको अवरोधलाई अनदेखा गर्दै बलमिच्याइँ गर्ने सभामुखको व्यवहार झनै आपत्तिजनक छ । सरकारले दिएको बिजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकूल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो,’ ‘षड्यन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनु भयो । यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ ।’

यस विषयलाई लिएर सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले सभामुख माथि लगाइएको आरोप पुष्टि गर्न ओलीलाई चुनौती दिएका छन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जारी गरेको वक्तब्यमा भनिएको छ , ‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’ ।

‘लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ । नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक छ । उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।’

हेर्नुहोस वक्तब्य;