स्याउका बगैँचा व्यवस्थापन गर्दै जुम्लाका किसान

खलङ्गा, १७ फागुन-जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैँचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैँचामा पुगेका छन् । प्राविधिकले बगैँचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी ज्ञान किसानलाई सिकाइरहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोखरेलले किसानलाई प्रविधिक सीपमूलक तालिमसमेत दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्याउ सुपरजोन कार्यालय जुम्लाले कार्य क्षेत्रभित्रका अधिकांश किसानको बगैँचामै पुगेर स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालेका छौँ । स्याउ किसानका बगैँचामै पुगेर काँटछाँट र व्यवस्थापनको व्यावहारिक अभ्यास गर्न थालिएको छ । बगैँचामै गएर अभ्यास गराउँदा किसान छिटो सिक्छन् । एकापसमा बगैँचाको व्यवस्थापनबारे अनुभव आदानप्रदान गर्छन् । गुणस्तरीय स्याउ उत्पादनका लागि जोड दिन्छन् । ”

बगैँचामै पुगेर व्यवस्थापन गर्दा किसानको समेत हौसला बढ्ने गरेको निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारीदिनुभयो । “यहाँको चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका १० किसानको बगैँचामा स्याउ बगैँचा व्यवस्थापनको व्यावहारिक अभ्यास गरिएको हो । जुम्लासँगै कालीकोटको रासकोट र तिलागुफा नगरपालिकाका किसानको बगैँचामै कृषि प्राविधिक पुगेर सीप सिकाउन थालेका छन् । यो पटक कृषि प्राविधिकले ३७५ जना किसानलाई व्यवस्थापन र काँटछाँटको व्यावहारिक ज्ञान दिएका छन् । किसानलाई बगैँचामै बोलाएर व्यवस्थापन गर्न सिकाउँदा निकै लाभान्वित भएका छन् । बिरुवा लगाउनेदेखि काँटछाँट, मलखादको प्रयोग लगायतका विषयका किसानलाई सहजीकरण गर्ने गरिएको निमित्त प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

प्रशिक्षक रामबहादुर खत्रीका अनुसार किसानले स्याउ लगाएपछि बिरुवाको हेरचाह र व्यवस्थापनमा ध्यान नदिँदा हुने हानिका विषयमा प्रविधिक तालिम दिएको बताउनुभयो । अहिले बगैँचामै पुगेर व्यवस्थापन तथा काँटछाँटको सीप सिकाउँदै आएका छौँ । किसान पनि निकै जागरुक भइसकेका छन् । बगैँचाभित्र देखिएको समस्याका बारेमा किसानले राय लिन्छन् । कृषि प्राविधिकले समस्या समाधानका लागि गर्नुपर्ने कार्यका बारेमा सुझाव दिने गरेको कृषि प्रविधिक बताउँछन् । कार्यालयबाट कृषि प्राविधिक बगैँचामै पुगेर सीप दिन थालेपछि यहाँका स्याउ किसान उत्साहित बनेको चन्दननाथ नगरपालिका–३ का स्याउ किसान बाटुली सार्कीले जानकारी दिनुभयो ।

किसानको जीवनस्तरमा परिवर्तन ल्याउन सीप निकै प्रभावकारी हुने गरेको छ । स्याउ खेतीमा किसानको आकर्षणसमेत बढाउने गरेको छ । स्याउ व्यवस्थापन र काँटछाँट गर्न किसान आफँै परिपक्व भएमा सहज हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । स्याउ सुपरजोन परियोजना जुम्लामा लागू भएपछि स्याउ खेतीमा हुने हरेक समस्याका बारेमा किसानले सहजै रुपमा परामर्श लिन सक्ने स्याउ सुपर जोन कार्यालयले जनाएको छ ।

निःशुल्क ओखरका बिरुवा वितरण
यहाँको चन्दननाथ नगरपालिका–१० का नमूना किसान शङ्खु खत्रीले जिल्लाका विपन्न किसानलाई निःशुल्क ओखरका बिरुवा वितरण

गरेका छन् । आफ्नो बुबाको जन्मदिनका अवसरमा खत्रीले विपन्न किसानलाई ग्राफ्टिङ गरिएका कास्मिरी जातको ओखरका बिरुवा निःशुल्क वितरण गरेका हुन् ।

नगरपालिकासहित तातोपानी, हिमा र गुठीचौर गाउँपालिकाभित्रका एक महिला, विपन्न, दलित, कृषिमा भविष्य देखेका युवा किसानलाई ८० हजार बराबरका बिरुवा निःशुल्क वितरण गरिएको नमूना किसान खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “म मेरो बुबाकै प्रेरणाले स्याउ, ओखर खेतीमा होमिएको हुँ । अहिले स्याउ ओखर खेतीमा अनुसन्धानसमेत गरिरहेको छु । जुम्लामा आर्थिक आम्दानीका हिसाबले स्याउभन्दा ओखर खेती उपयुक्त छ । त्यसैले किसानलाई निःशुल्क बिरुवा वितरण गरेको छु ।”

नमूना किसानका रुपमा दर्जनभन्दा बढी राष्ट्रिय पुरस्कारबाट पुस्कृत भइसकेका किसान शङ्खु खत्री जुम्लामा ओखर खेतीको विस्तार गरी किसानको आर्थिक स्थिति सुधार गर्ने लक्ष्यले निःशुल्क बिरुवा वितरण गरेको बताउनुभयो । जिल्लामा स्याउ ओखर खेतीको सम्भावना राम्रो भएकाले शङ्खु खत्रीको उत्प्रेरणाले पनि जुम्ली युवा कृषिमै होमिनु राम्रो काम भएको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । ( रासस )